
१५ असोज, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो तीनवर्षे कार्यकाल पूरा गरी बिहीबार स्वदेश फर्किँदै छन् । उनको स्थानमा नयाँ राजदूत को आउने भन्ने विषयमा भने अहिलेसम्म टुंगो लागेको छैन ।
श्रीवास्तव फर्किएपछि तत्कालका लागि भारतीय दूतावासका मिसन उपप्रमुख डा. राकेश पाण्डेले कार्यवाहक राजदूतका रूपमा जिम्मेवारी सम्हाल्नेछन् । पाण्डेले यसअघि पनि श्रीवास्तव उपचारमा रहेका बेला कार्यवाहक राजदूतका रूपमा काम गरेका थिए ।
सामान्यतया राजदूतको कार्यकाल सकिनुअघि नै भारतले नयाँ राजदूतको नाम टुंगो लगाएर नेपाल सरकारलाई जानकारी गराउने गरेको थियो । तर, यसपटक भने श्रीवास्तवको कार्यकाल सकिँदासम्म नयाँ राजदूतको नाम सार्वजनिक भएको छैन ।
भारतीय जनता पार्टी निकट एक नेताका अनुसार नेपालमा पछिल्लो राजनीतिक अवस्था, भूराजनीतिक परिस्थिति तथा प्राकृतिक विपद्का कारण नयाँ राजदूतका रूपमा नेपाल आउन इच्छुक व्यक्तिको संख्या कम भएको दाबी गरिएको छ ।
भारतले नेपालमा राजनीतिक नियुक्तिमार्फत राजदूत पठाउने तयारी गरेको हुनसक्ने चर्चा पनि छ । नेपाल–भारत मामिलाका जानकार डा. निहार नायकले नेपालमा राजनीतिक पृष्ठभूमिबाट राजदूत पठाउने विषयमा चर्चा भए पनि सम्भावित व्यक्तिको नाम भने औपचारिक रूपमा बाहिर नआएको बताएका छन् ।
नयाँ भारतीय राजदूतका रूपमा भारतको विदेश मन्त्रालयका अतिरिक्त विदेश सचिव मुनु महावरको नाम चर्चामा रहेको बताइएको छ । उनी विदेश मन्त्रालयको नर्थ डिभिजनअन्तर्गत नेपाल, चीन र भुटानसम्बन्धी मामिला हेर्ने जिम्मेवारीमा छन् ।
सन् १९९६ ब्याचका भारतीय विदेश सेवा (आईएफएस) अधिकारी महावरले सन् २००१ देखि २००५ सम्म भारतीय विदेश मन्त्रालयमा नेपाल डेस्कमा काम गरेका थिए । उनले माल्दिभ्सका लागि भारतीय राजदूतको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
महावर पछिल्लो समय पटक–पटक नेपाल आएका छन् । तत्कालीन प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका बेला पनि उनी नेपाल आएका थिए । त्यस क्रममा उनले प्रधानमन्त्रीसहित उच्चस्तरीय भेटघाट गरेका थिए ।
यसअघि पनि उनी नेपाल भ्रमणमा आएका थिए । प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्ने तयारीसहित नेपाल आएका महावरले प्रधानमन्त्रीसँग भेट गर्न नपाए पनि अन्य उच्चस्तरीय भेटघाट गरेका थिए ।
यद्यपि, भारतीय पक्षले नयाँ राजदूतका रूपमा कसलाई पठाउने भन्नेबारे औपचारिक निर्णय गरिसकेको छैन ।
भारतले राजनीतिक नियुक्तिबाट राजदूत पठाउने हो भने भारतीय जनता पार्टीका नेता रविशंकर प्रसादको नामसमेत चर्चामा रहेको बताइएको छ । उनी लोकसभा सदस्य हुनुका साथै यसअघि भारत सरकारका विभिन्न मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।
त्यसबाहेक भाजपा निकट अन्य व्यक्ति, पूर्वसेना प्रमुख तथा अवकाशप्राप्त उच्च तहका कर्मचारीहरूको नामसमेत सम्भावित राजदूतका रूपमा चर्चामा रहेको स्रोतको दाबी छ ।
भारतमा नेपालका लागि राजदूत नियुक्तिको विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालको समेत चासो रहने भारतीय विदेश मन्त्रालय निकट स्रोतको दाबी छ ।
यसैबीच नेपालमा प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला भारतीय राजदूतको कार्यकाल सकिएको हो । प्रधानमन्त्रीको भारत भ्रमण नोभेम्बरमा हुने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
भारतले त्यसअघि नै नेपालका लागि नयाँ राजदूतको नाम पठाउने अपेक्षा गरिएको ती अधिकारीको भनाइ छ ।
यता, भारतका लागि नेपाली राजदूतमा निश्चलनाथ पाण्डेको नाम सिफारिस भएको छ । उनको नाम संसदीय समितिमा छलफलको क्रममा रहेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि नै पाण्डेलाई भारतका लागि राजदूत नियुक्त गर्ने प्रक्रिया अघि बढिरहेको बताइएको छ ।