
१५ असोज, काठमाडौं । मनाङको हिमलुङ हिमालमा हिमपहिरोमा परी बेपत्ता भएकामध्ये थप चार जनाको शव फेला परेको छ।
हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको टोलीले बिहीबार थप चार शव फेला पारेको जनाएको छ। पासाङकाजी शेर्पाको नेतृत्वमा अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारको काम जारी राखेको थियो।
एसोसिएसनले शेर्पालाई उद्धृत गर्दै थप चार जनाको शव फेला परेको जानकारी दिएको हो। यससँगै हिमलुङ हिमपहिरोमा परी ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ।
गत ९ असोजदेखि प्रतिकूल बनेको मौसमका कारण हिमलुङ हिमालमा हिमपहिरो गएको थियो। हिमलुङको आधार शिविरमा आएको हिमपहिरोमा कुल १६ जना बेपत्ता भएका थिए।
हालसम्म ११ जनाको शव फेला परेको छ भने अझै पाँच जना बेपत्ता रहेको जनाइएको छ। बेपत्ताहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।