२०८३ आश्विन १६, शुक्रबार

गलकोट वडा कार्यालय बाढी

बाढीले बगायो गलकोट–९ को वडा कार्यालय, वडाध्यक्ष भन्छन्– ‘भवनसँगै मेरो इतिहास पनि मेटियो’

बागलुङ
बाढीले बगायो गलकोट–९ को वडा कार्यालय, वडाध्यक्ष भन्छन्– ‘भवनसँगै मेरो इतिहास पनि मेटियो’

८० लाख रुपैयाँ लागतमा बनेको वडा कार्यालय भवन दरमखोलाको बाढीले ढाल्यो, अहिले भाडाको घरबाट सेवा प्रवाह

२३ असोज, बागलुङ । दरमखोलाको आडैमा रहेको बागलुङको गलकोट नगरपालिका–९ को वडा कार्यालय भवन गत असोज ११ गते आएको बाढीले खोलामै ढलाएको छ ।

संघीयता कार्यान्वयनपछि पहिलो स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष तेजबहादुर थापाले आफ्नै कार्यकालमा वडा कार्यालय भवन निर्माणका लागि पहल गरेका थिए । लामो प्रयासपछि करिब ८० लाख रुपैयाँ लागतमा २०७७ साल माघमा भवन निर्माण सम्पन्न भएको थियो ।

तीन रोपनी क्षेत्रफलमा बनेको उक्त भवनका लागि केही जग्गा स्थानीयसँग खरिद गरिएको थियो भने केही दानमा प्राप्त भएको थियो । भवनसँगै गाडी पार्किङ र बगैँचा पनि निर्माण गरिएको थियो ।

तर, दरमखोलामा आएको बाढीले जमिन कटान गर्दै भवनको जगसम्म पुगेपछि सिंगो भवन नै खोलामा ढलेको हो । अहिले भवनसँगै पार्किङस्थल र बगैँचाको समेत नामनिशान छैन ।

वडाध्यक्ष थापा अहिले पनि बिहान–बेलुका ढलेको वडा कार्यालय हेर्न पुग्छन् । भवनभित्र रहेका अत्यावश्यक सामग्री निकाल्न जोखिम मोलेर उनी आफैँ भित्र पस्ने गरेका छन् । कहिले कुर्सी, कहिले टेबल त कहिले कम्प्युटरका पाटपुर्जा निकालेर बाहिर ल्याउने गरेका छन् ।

स्थानीय युवाहरूले पनि उनलाई सामान निकाल्न सहयोग गर्दै आएका छन् । बाढीले भवनको जमिन कटान गर्न थालेपछि स्थानीयले महत्वपूर्ण कागजपत्र भने सुरक्षित रूपमा निकालिसकेका थिए । अन्य कतिपय सामान भने भवनसँगै खोलामा पुगेका छन् ।

गलकोट नगरपालिका–९ को आफ्नै भवन निर्माण हुनुअघि वडा कार्यालय स्थानीय भैरव माध्यमिक विद्यालयको खाली कोठा भाडामा लिएर सञ्चालन हुँदै आएको थियो । त्यसबेला कार्यालयले विद्यालयलाई मासिक ६ हजार रुपैयाँ भाडा तिर्ने गरेको थियो ।

वडाध्यक्ष थापाका अनुसार भवन ढलेपछि अहिले नजिकैको गाउँमा एउटा घर भाडामा लिएर वडा कार्यालयको सेवा सञ्चालन भइरहेको छ । भवन नभए पनि नागरिकलाई सेवा प्रवाहमा समस्या हुन नदिने उनले बताएका छन् ।

बाढीले थापाको लाखौँ रुपैयाँ मूल्य पर्ने धानखेतसमेत बगरमा परिणत गरेको छ । तर, उनलाई व्यक्तिगत क्षतिभन्दा वडा कार्यालय भवन ढलेकोमा बढी चिन्ता छ ।

‘मेरो धानखेत बगेर मलाई केही चिन्ता लागेको छैन । म एकपटक पनि त्यो खेतमा पुगेको छैन । तर वडा कार्यालय लडेको ठाउँमा दिनमा १० पटक आउँछु । यहाँ आएर यो दृश्य देख्दा आँखा रसाउँछ,’ उनले भने ।

वडा कार्यालय भवनसँगै आफ्नो दुई कार्यकालको काम र सम्झना पनि मेटिएको महसुस भएको थापाले बताए ।

‘भवनसँगै मेरो इतिहास खोलामा मेटियो । यहाँ मेरो दुई–दुई कार्यकालको एक–एक थोपा पसिना छ । मैले गरेको एउटा उपलब्धि थियो, तर त्यो मेटियो,’ उनले भावुक हुँदै भने ।

बाढीले भवनसँगै करिब १५ लाख रुपैयाँ लागतमा जडान गरिएको सोलार बत्तीसमेत बगाएको छ । उक्त भवन गलकोट नगरपालिकाका ११ वडामध्ये सबैभन्दा पहिले निर्माण गरिएको वडा कार्यालय भवन थियो ।

भवन खोलामा ढले पनि अझै बलियो रहेको भन्दै थापाले सम्भव भए उठाएर पुनःस्थापना गर्ने योजना रहेको बताए ।

गलकोट नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षति विवरणअनुसार बाढीले नगर क्षेत्रका २२ घरमा क्षति पुर्‍याएको छ । घर, गोठ तथा व्यवसायमा क्षति पुगेको नगरपालिकाले जनाएको छ । गलकोट–५ हरिचौर र वडा नम्बर ६ चरौंदीमा बाढीबाट सबैभन्दा बढी क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस