
१६ असोज, काठमाडौं । नागढुङ्गा–नौबिसे सुरुङमार्गमा ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने १३ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतको ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले बुधबार सुरुङमार्गमा अनुगमन गर्ने क्रममा ओभरटेक, तीव्र गति तथा अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने चालकलाई कारबाही गरेको हो ।
प्रहरीका अनुसार सुरुङमार्गमा ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउने तथा लेन अनुशासन पालना नगर्ने जस्ता गतिविधिले दुर्घटनाको जोखिम बढाउँछ । सुरुङभित्र दुर्घटना भए तत्काल उद्धार तथा व्यवस्थापनमा समेत कठिनाइ हुने भएकाले चालकलाई थप सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।
सुरुङमार्ग संवेदनशील मार्ग भएकाले सवारी चलाउँदा लेन अनुशासन, गति सीमा तथा अन्य ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न प्रहरीले चालकलाई अनुरोध गरेको छ ।
प्रहरीले सुरुङमार्गमा पटक–पटक लेन अनुशासन, तीव्र गति लगायतका ट्राफिक नियम उल्लङ्घन गरेको पाइएमा सम्बन्धित सवारीसाधन र चालकलाई आगामी दिनमा सुरुङमार्ग प्रवेशमा समेत निषेध गरिने चेतावनी दिएको छ ।
प्रहरीले सुरुङमार्गमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि नियमित अनुगमन तथा ट्राफिक नियम कार्यान्वयनलाई निरन्तरता दिने जनाएको छ ।