२०८३ आश्विन १६, शुक्रबार

दोधारा चाँदनी झोलुङ्गे पुल

क्षतिग्रस्त दोधारा–चाँदनी झोलुङ्गे पुल निरीक्षण गर्न प्राविधिक टोली सुदूरपश्चिममा

दोधारा चाँदनी
क्षतिग्रस्त दोधारा–चाँदनी झोलुङ्गे पुल निरीक्षण गर्न प्राविधिक टोली सुदूरपश्चिममा

१६ असोज, काठमाडौं । दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको क्षतिको अवस्था अवलोकन गर्न काठमाडौंँबाट प्राविधिक टोली सुदूरपश्चिम पुगेको छ ।

शहरी विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरबाट उपमहानिर्देशक कमल अधिकारीको नेतृत्वमा प्राविधिक टोली बिहीबार साँझ कैलालीको धनगढी पुगेको हो ।

टोलीले शुक्रबार कञ्चनपुरको दोधारा चाँदनी पुगेर क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण गर्नेछ । निरीक्षणपछि पुलको अवस्थाबारे प्राविधिक अध्ययन गरी आवश्यक निर्णय लिइने उपमहानिर्देशक अधिकारीले बताएका छन् ।

‘हामीले नै बनाएको आइकोनिक पुलको अवस्था हेरेर आवश्यक निर्णय गर्नेछौँ,’ अधिकारीले भने ।

पुलमा क्षति पुगेकै दिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला दोधारा चाँदनी पुगेर प्राविधिक अध्ययनको प्रक्रिया अघि बढाएका थिए । अध्ययन प्रतिवेदन प्राप्त भएपछि पुल पुनर्निर्माणको प्रक्रिया अघि बढाइने उनले बताएका थिए ।

प्रमुख जिल्ला अधिकारी कोइरालाले बिहीबार नै गृह मन्त्रालयलाई पत्राचार गरी पुल मर्मत तथा पुनर्निर्माणका लागि आवश्यक समन्वय गरिदिन आग्रह गरेका छन् ।

गत बुधबार महाकाली नदीमा आएको बाढीका कारण दोधारा चाँदनीको झोलुङ्गे पुलको एक भाग चुँडिएर नदीमा लत्रिएको थियो । त्यसयता पुलबाट आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ ।

प्रजिअ कोइरालाका अनुसार पुल चुँडिएर नदीमा झरेको स्थानमा महाकालीको पानीको बहावसमेत तीव्र देखिएको छ । पुलको क्षतिको विस्तृत अवस्था प्राविधिक टोलीको स्थलगत निरीक्षणपछि स्पष्ट हुने बताइएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस