
१६ असोज, जनकपुरधाम । मधेस प्रदेशसभा साढे दुई महिनादेखि ठप्प भएको छ । प्रदेशसभाको बैठक नियमित रूपमा सञ्चालन हुन नसक्दा प्रदेशका महत्वपूर्ण विधायी काम प्रभावित भएका छन् ।
मधेस प्रदेशसभाको पाँचौँ अधिवेशनमा बजेटमाथि छलफल भइरहेका बेला दलहरूबीच विवाद र अवरोध देखिएको थियो । बजेट संशोधनको माग गर्दै प्रमुख प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक अवरुद्धसमेत गरेका थिए ।
यसअघि बजेटमाथिको सामान्य छलफलका लागि बोलाइएको प्रदेशसभाको बैठकसमेत सूचना जारी गरेर अनिश्चितकालका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले सभामुखको आदेशपछि बैठक स्थगित गरिएको जनाएको थियो ।
प्रदेशसभामा पटक–पटकको अवरोध र दलगत विवादका कारण सरकारका कामकारबाही तथा आवश्यक कानुन निर्माणको प्रक्रिया प्रभावित हुँदै आएको छ । पछिल्लो समय प्रदेशसभा बजेट पारित गर्ने थलोमा सीमित हुँदै गएको भन्दै यसबारे सार्वजनिक रूपमा समेत बहस हुँदै आएको छ ।
प्रदेशसभा बैठक लामो समयसम्म सञ्चालन हुन नसक्दा प्रदेश सरकारका नीति तथा कार्यक्रम, विधेयक र जनसरोकारका विषयमा छलफल गर्ने संवैधानिक थलोसमेत निष्क्रियजस्तै बनेको छ ।
प्रदेशसभाको बैठक नियमित रूपमा सञ्चालन गरी रोकिएका विधायी काम अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ । दलहरूबीच सहमति कायम हुन नसकेसम्म प्रदेशसभा सञ्चालनमा थप अन्योल रहने अवस्था देखिएको छ ।