२०८३ आश्विन १६, शुक्रबार

निर्वाचन प्रहरी

निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन

निर्वाचन प्रहरी पोशाक खरिद
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय उपसमिति गठन

१६ असोज, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्वाचन प्रहरीका लागि खरिद गरिएको पोशाकबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिलाई अध्ययन पूरा गरी प्रतिवेदन बुझाउन दुई महिनाको समय दिइएको छ ।

उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन् ।

नेपाल प्रहरीले गत माघमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गरेको थियो । उक्त खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै सांसद खगेन्द्र सुनारले निरन्तर प्रश्न उठाउँदै आएका छन् ।

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरीले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरेका थिए । दुवै सुरक्षा निकायमा गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना भएका थिए ।

निर्वाचन प्रहरीका लागि भूगोलअनुसार प्रतिव्यक्ति न्यूनतम ५० हजार ९५४ रुपैयाँदेखि अधिकतम ८६ हजार ४८४ रुपैयाँसम्म खर्च भएको थियो । उनीहरूलाई ४० दिनको पारिश्रमिक, रासन, यातायात तथा खाजा खर्चबापत रकम उपलब्ध गराइएको थियो ।

सरकारले निर्वाचन प्रहरीलाई पोशाकबापत छुट्टै रकम उपलब्ध गराएको थियो । हिमाली क्षेत्रमा खटिने निर्वाचन प्रहरीका लागि ११ हजार ५०० रुपैयाँ, पहाडी क्षेत्रमा ७ हजार ९४५ रुपैयाँ र तराई क्षेत्रमा खटिनेका लागि ६ हजार १७० रुपैयाँका दरले पोशाक खर्च छुट्याइएको थियो ।

प्रहरी अधिकारीहरूका अनुसार निर्वाचन प्रहरीको पोशाक शीर्षकमा करिब १ अर्ब रुपैयाँ निकासा भएको थियो । प्रहरी प्रधान कार्यालयले खटिएको स्थानमा जान र फर्कन तयारी खर्चबापत ८४८ रुपैयाँ तथा चार दिनको तालिम अवधिमा खाजा खर्चबापत एकमुष्ट १ हजार २०० रुपैयाँसमेत उपलब्ध गराएको थियो ।

हाल विवादमा रहेको रकम भने निर्वाचन प्रहरीको पोशाकबापत छुट्याइएको रकम हो ।

डेढ महिनाका लागि मात्रै नियुक्त गरिएका निर्वाचन प्रहरीलाई कमसल सामग्री उपलब्ध गराइएको भन्दै त्यसबेला नै विभिन्न निकायमा उजुरी परेको बताइएको छ ।

यही विषयमा उठेका प्रश्न र उजुरीमाथि अध्ययन गर्न सार्वजनिक लेखा समितिले उपसमिति गठन गरेको हो । उपसमितिको अध्ययनपछि निर्वाचन प्रहरीको पोशाक खरिद प्रक्रियामा उठेका प्रश्नबारे थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस