
१८ असोज, काठमाडौं । म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति र नक्कली लेबल लगाएर बिक्री वितरण गरेको आरोपमा प्रहरीले काठमाडौंको तीनथानाबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विजेन्द्र साह र अखिलेस प्रसाद कलवार रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका–१५, तीनथानामा उनीहरूले सञ्चालन गर्दै आएको सिद्धिविनायक खाद्य स्टोरमा स्थलगत अनुगमन गरेको थियो।
अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर रि–लेबलिङ गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।