२०८३ आश्विन २०, मंगलबार

विपद् व्यवस्थापन

विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाह विपद् व्यवस्थापन
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री बालेन शाह

१९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारे।

बैठकमा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो।

मुख्यमन्त्रीहरूलाई लक्षित गर्दै प्रधानमन्त्री शाहले उपलब्ध स्रोतसाधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सम्पन्न गर्ने प्रयास भइरहेको बताए।

उनले भने, ‘हामीले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं, त्यसैले यस विषयलाई लिएर ढुक्क हुन आग्रह गर्दछु।’

प्रधानमन्त्री शाहले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययनसँगै त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको जानकारी दिए।

उनका अनुसार विपद् जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारी गरेको छ। साथै, हिमपहिरोको जोखिम न्यूनीकरणका लागि समेत आवश्यक काम भइरहेको उनले बताए।

प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका क्रममा आफ्नो ज्यानसमेत जोखिममा राखेर निरन्तर खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति कृतज्ञता व्यक्त गरे।

सरकारले विपद्पछिको उद्धार, राहत, क्षति अध्ययन तथा पुनःस्थापनाका कामलाई सम्बन्धित तहका सरकारसँगको समन्वयमा अघि बढाइरहेको जनाएको छ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस