
१९ असोज, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत जाने भएका छन् ।
बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत हुने गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन उनी भारत जान लागेका हुन् ।
गृह मन्त्रालयका अनुसार गृहमन्त्री गुरुङ असोज २६ गते अर्थात् अक्टोबर १२ मा भारत प्रस्थान गर्ने तयारीमा छन् । उनी पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन् ।
बैठकमा बिमस्टेकका सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन् । नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री बैठकमा सहभागी हुनेछन् ।
भारतमा हुने बैठकमा सदस्य राष्ट्रबीच सुरक्षा तथा आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । बैठक असोज २७ गते अर्थात् अक्टोबर १३ मा नयाँदिल्लीमा हुने बताइएको छ ।