
२० असोज, पोखरा । पर्वतको कुश्मा बजारदेखि मालढुंगा हुँदै म्याग्दीको बेनी बजारसम्मको सडकखण्डमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ । ठाउँ–ठाउँमा पहिरो खसेर सडक क्षतविक्षत बनेका छन् भने कतिपय स्थानमा पहिरोले सडक नै बगाएको छ ।
सडकमा थुप्रिएको ढुंगामाटो पन्छाएर सवारी सञ्चालनमा ल्याइए पनि यात्रुहरू अझै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सडक माथिबाट खस्नसक्ने ढुंगा तथा कमजोर बनेका पहाडका कारण जुनसुकै बेला दुर्घटना हुनसक्ने जोखिम कायमै रहेको स्थानीयहरू बताउँछन् ।
पर्वतको कुश्मा नगरपालिका–अन्तर्गत सहस्रधारा तथा मालढुंगा–बेनी सडकका विभिन्न स्थानमा पहिरोको जोखिम देखिएको छ । असोज ८ गतेदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले गण्डकी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो ।
कालीगण्डकी नदीमा आएको बाढीले जलजला गाउँपालिकाको पुरानो फर्से बजारमा समेत ठूलो क्षति पुर्याएको छ । म्याग्दी सदरमुकाम बेनीदेखि पर्वत सदरमुकाम कुश्मासम्म कालीगण्डकी नदीले ठाउँ–ठाउँमा कटान गरेको देखिन्छ ।
क्षतिग्रस्त क्षेत्रको अवलोकन गर्दै संरक्षण अभियन्ता आरके अदिप्त गिरीले ठूलो मानवीय क्षति टरेको बताए ।
‘कालीगण्डकीले यसरी बस्ती र जमिन कटान गरेको छ, मानौं हाम्रा बस्तीहरू बाल–बाल बचेका हुन् । ठूलो मानवीय क्षति टरेको हो,’ उनले बताए ।
असोज ११ गते कालीगण्डकीमा आएको बाढीले पर्वत र बागलुङ जोड्ने मालढुंगा पुलको पहुँचमार्ग नै कटान गरेको थियो ।
पुलको पर्वततर्फको भागमा नदीले कटान गरेपछि चाडबाडको मुखमा पर्वत पश्चिमसहित बागलुङ र पश्चिम नेपालका हजारौं नागरिक प्रभावित भएका छन् ।
मालढुंगा पुलको पहुँचमार्गमा क्षति पुगेपछि बागलुङ, बुर्तिबाङ हुँदै रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, जाजरकोट, डोल्पा, दैलेख, अछामलगायत पश्चिम तथा मध्यपहाडी जिल्लासँगको यातायात प्रभावित भएको छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार मालढुंगामा पहुँचमार्ग कटान हुँदा चाडबाडको मुखमा हजारौं नागरिकले समस्या बेहोर्नुपरेको छ ।
मालढुंगा पुल नेपालकै पहिलो आर्क ब्रिजका रूपमा चिनिन्छ । २०४८ सालमा चिनियाँ सहयोगमा निर्माण भएको यो धनुष आकारको पुलमा नदीको बीच भागमा पिल्लर राखिएको छैन ।
आर्क पुलको भार आर्कको बक्रतामार्फत दुवैतर्फका बलिया फाउन्डेसनमा पुग्ने भएकाले लामो स्पानमा पिल्लरविना पुल निर्माण गर्न सकिन्छ । नदीमा बाढी आउँदा बगेर आउने काठपात, गेगर तथा भलले पिल्लरमा क्षति पुर्याउने जोखिमसमेत कम हुने विज्ञहरू बताउँछन् ।
यसपटक भने कालीगण्डकीको बाढीले आर्क ब्रिजकै छेउमा रहेको सडकको एउटा भाग कटान गरेको छ । नदी दोहन तथा खोलाको प्राकृतिक धारमा गरिएको हस्तक्षेपका कारण क्षति बढेको हुनसक्ने इन्जिनियरहरूले बताएका छन् ।
सडक डिभिजन कार्यालय पोखराका सूचना अधिकारी इन्जिनियर ध्रुव पोखरेलले बाढीका कारण ठाउँ–ठाउँमा क्षति भएको र नदी अतिक्रमण तथा दोहनका कारण समस्या थपिएको बताए ।
‘११ असोजको बाढीले ठाउँ–ठाउँमा धेरै क्षति भएको छ । ठाउँ–ठाउँमा खोलाको अतिक्रमण भएको छ । क्रसरहरूले गरेको नदी दोहन पनि छ,’ उनले बताए, ‘खोलाको धारले पहुँच सडकमा क्षति पुगेको देखिन्छ । यसको अध्ययन होला र हुनु पनि पर्छ ।’
बाढीपछि पनि कालीगण्डकी नदी क्षेत्रमा स्काभेटर, डोजर र टिप्परमार्फत नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसार भइरहेको स्थानीयहरूले बताएका छन् ।
पर्वतका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले समेत नदी दोहनका कारण बस्ती र संरचना जोखिममा परेको गुनासो आएको बताए ।
‘नदी किनारका बस्ती र पुललगायत संरचना दोहनकै कारण कटानमा परेको स्थानीयको गुनासो छ । नदीले धार परिवर्तन गर्दै बस्तीतिर छिर्नुमा उत्खनन्को कारण पनि देखिन्छ,’ उनले भने ।
उनका अनुसार नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारको विषयमा कडाइका साथ अनुगमन गरी वैध–अवैध गतिविधि छुट्याएर कारबाही गरिनेछ ।
मालढुंगा पुलको पहुँचमार्गमा अहिले डोजर प्रयोग गरेर कटान भएको क्षेत्रमा माटो सम्याउने तथा सडक निर्माणको काम भइरहेको छ ।
सडक डिभिजन कार्यालय पोखराले आकस्मिक कोषमार्फत दशैंअघि नै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ ।
इन्जिनियर पोखरेलका अनुसार बाढीपछि सुरुका दिनमा निर्माणस्थलमा ८ देखि १० मिटरसम्म पानी भएकाले काम गर्न कठिनाइ भएको थियो । अहिले भने निर्माणका लागि आवश्यक प्लाटफर्म तयार पार्ने काम भइरहेको छ ।
‘जग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अब यसलाई १८ मिटर उचाइको बनाउनुपर्ने छ । कम्तीमा दशैंअघि नै खुलाउने गरी तयारी भइरहेको छ,’ उनले बताए ।
मालढुंगा पुल सञ्चालनमा नआउँदा पोखरा, नारायणगढ र काठमाडौंलगायत प्रमुख सहरसँगको आवागमन प्रभावित भएको छ ।
कुश्मादेखि बेनीसम्मका विभिन्न स्थानमा खसेका पहिरो पन्छाएर सवारी सञ्चालनमा आए पनि सडकको जोखिम भने कायमै रहेको स्थानीय गणेश आचार्यले बताए ।
बाढीपहिरोका कारण बेनी–जोमसोम सडकसमेत प्रभावित हुँदा मुस्ताङ स्थलमार्गबाट सम्पर्कमा समस्या भएको छ । त्यस्तै, चीनसँगको कोरोला नाकासमेत सडक अवरुद्ध हुँदा प्रभावित बनेको छ ।
मालढुंगा पुल सञ्चालनमा आउन अझै केही समय लाग्ने भएपछि खाद्यान्न, पेट्रोलियम पदार्थ र ग्यासको आपूर्तिमा समस्या हुन थालेको स्थानीयहरूले बताएका छन् ।
दशैंको समयमा आवश्यक वस्तुको अभाव हुनसक्ने भन्दै स्थानीयहरू चिन्तित छन् । बागलुङका हरि खड्काले पुल छिटो सञ्चालनमा नआए दशैंमा थप समस्या हुने बताए ।
हाल बागलुङ र पर्वतका बासिन्दाहरू वैकल्पिक रूपमा गण्डकी गोल्डेन झोलुंगे पुल तथा कुश्माका अन्य झोलुंगे पुल प्रयोग गरिरहेका छन् । यात्रुहरू पैदल झोलुंगे पुलबाट कालीगण्डकी नदी पार गरी पर्वततर्फ पुगेपछि त्यहाँबाट अर्को सवारी साधन प्रयोग गरेर गन्तव्यतर्फ जाने गरेका छन् ।