२०८३ आश्विन २६, सोमबार

मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

मुगुमा सुक्खा पहिरोले एक्स्काभेटरसहित चालक पुरिए, सहचालक घाइते

२६ असोज, सुर्खेत । मुगुको खत्याड गाउँपालिका–११ स्थित बिरा खोलामा सुक्खा पहिरो खस्दा एक्स्काभेटरसहित चालक पुरिएका छन् । घटनामा सहचालक घाइते भएका छन् ।

सोमबार बिहान करिब ८ः३० बजे मुगु–रारा भित्री सडकखण्डअन्तर्गत बेलीब्रिज पुल जोड्ने नयाँ सडकको कटिङ गर्ने क्रममा सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ ।

पहिरोमा बा ३ क ३२७६ नम्बरको एक्स्काभेटरसहित चालक २४ वर्षीय विमल बाग पुरिएका हुन् । बागको स्थायी ठेगाना बझाङ रहेको भए पनि पूरा ठेगाना खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

एक्स्काभेटरमै रहेका सहचालक मुगुको सोरु गाउँपालिका–१ निवासी २२ वर्षीय विनय मल्ल ढुङ्गाले लागेर घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको छ । उनी बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

चालकको उद्धार जारी

पहिरोमा पुरिएका चालकलाई बाहिर निकाल्न प्रहरी टोलीले उद्धार कार्य जारी राखेको छ ।

इलाका प्रहरी कार्यालय रातापानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक निबन्ध बुढाको कमान्डमा ६ जना र प्रहरी चौकी माझचौरबाट प्रहरी सहायक निरीक्षक आनन्दकुमार प्याकुरेलको कमान्डमा ७ जना गरी १३ जना प्रहरी घटनास्थलमा खटिएका छन् ।

घटनास्थल इलाका प्रहरी कार्यालय रातापानीबाट करिब सात किलोमिटर पूर्व र प्रहरी चौकी माझचौरबाट ११ किलोमिटर पश्चिममा पर्छ ।

चालकको उद्धार तथा घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस