
२६ असोज, उदयपुर । उदयपुर प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट एक हजार ४० किलो ४४० ग्राम गाँजा बरामद गरेको छ। गाँजा ओसारपसारमा प्रयोग भएको बोलेरो गाडीसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरू फरार रहेका छन्।
जिल्लाको चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट प्रहरीले ९४० किलो ४४० ग्राम गाँजा बरामद गरेको हो।
आइतबार राति करिब २ बजे गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पार्किङ गरी राखिएको बा१४च २२५५ नम्बरको बोलेरो गाडी जाँच गरेको थियो। जाँचका क्रममा गाडीमा २९ वटा बोरामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजाको तौल बोरासहितको रहेको बताइएको छ।
त्यस्तै, कटारी नगरपालिका–६ स्थित सागुरी पुलनजिकैको जंगलबाट प्रहरीले थप १०० किलो गाँजा बरामद गरेको छ। आइतबार राति करिब १०:२० बजे इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले पाँचवटा बोरामा राखिएको गाँजासहित ताप्ली गाउँपालिका–२ का करिब २२ वर्षीय विश्वराज राईलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार तिनतलेबाट सिराहातर्फ गाँजा लैजाँदै गरेको अवस्थामा राईलाई नियन्त्रणमा लिइएको थियो। उक्त घटनामा संलग्न अन्य व्यक्तिहरू भने फरार रहेको प्रहरीले जनाएको छ।
दुवै स्थानबाट बरामद गरिएको गाँजाको कुल तौल एक हजार ४० किलो ४४० ग्राम रहेको छ। फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। बोलेरो गाडीसहित गाँजा बरामद भएको घटनाबारे पनि अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।