
नवलपुर । नवलपुरको गैँडाकोटमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
सोमबार बिहान करिब ८ः३० बजे गैँडाकोट नगरपालिका–५, कुसुमपाटस्थित भित्री सडकखण्डमा गैँडाकोट इङ्लिस स्कुलको बस र मोटरसाइकल ठोक्किँदा २६ वर्षीय युवकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार कालिकाचोकबाट श्रीराम प्यालेसतर्फ जाँदै गरेको ग १ ख ३९७० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना.५८ प ४५७२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक गैँडाकोट नगरपालिका–६ निवासी २६ वर्षीय राजु बापा गम्भीर घाइते भएका थिए । टाउकोमा चोट लागेका उनलाई उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो ।
उपचारकै क्रममा बिहान ९ः३४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ । साथै, बस चालक गैँडाकोट नगरपालिका–१, धारापानी निवासी ५१ वर्षीय मनिराम थापामगरलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।