
२६ असोज, काठमाडौं । चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलो सुन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार थप अनुसन्धान तथा कारबाहीका लागि बरामद सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिकलाई भन्सार कार्यालय पठाइएको हो ।
भन्सार कार्यालयमा पठाइए पनि सुन तस्करीमा संलग्न हुन सक्ने अन्य व्यक्ति तथा समूहको सञ्जाल पत्ता लगाउन प्रहरीले अनुसन्धान जारी राखेको छ । सबै क्षेत्रलाई समेटेर अनुसन्धान टोली बनाएर काम भइरहेको एसएसपी खड्काले बताए ।
गत २२ असोजमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बूढानीलकण्ठ नगरपालिका–स्थित माथिल्लो भंगालको एक घरबाट २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको थियो । बरामद भएको दिनको बजार मूल्यअनुसार उक्त सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त घरबाट सुनका टुक्रा, बिस्कुट आकारका ढिक्का तथा लेसिलो अवस्थामा रहेको सुन बरामद गरेको थियो ।
सुनसँगै पक्राउ पर्नेमा चीनको जियाङ्सु ग्वाङडोङका २७ वर्षीय हान फिई, ४७ वर्षीय चोउ लङसिन र ३७ वर्षीय वाङ जियान्जेन रहेका छन् ।
उनीहरूले सिंगो घर भाडामा लिएर सुन प्रशोधन गर्ने कारखाना सञ्चालन गरेको आरोप छ । बरामद सुन हवाई मार्ग हुँदै नेपाल भित्रिएको हुन सक्ने प्रहरीको आशंका छ ।