२०८३ आश्विन २७, मंगलबार

नक्कली भुटानी शरणार्थी प्रकरणकै शैलीमा इजरायल पठाउने भन्दै ठगी, २२ जनाबाट साढे ६ करोड असुली

नक्कली भुटानी शरणार्थी प्रकरणकै शैलीमा इजरायल पठाउने भन्दै ठगी, २२ जनाबाट साढे ६ करोड असुली

२७ असोज, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीकै शैलीमा इजरायल पठाउने नाममा करोडौं रुपैयाँ ठगी भएको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा मन्त्रिपरिषद्को निर्णय भन्दै नक्कली कागजात बनाएर पीडितलाई विश्वासमा लिई रकम असुलिएको खुलेको हो ।

सीआईबीका अनुसार इजरायलमा केयर गिभरका रूपमा रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने समूहले मन्त्रिपरिषद्को विशेष निर्णय भएको भन्दै नक्कली कागजात देखाउने र प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नामसमेत जोडेर पीडितलाई विश्वासमा लिने गरेको थियो ।

सन् २०२४ मा नेपाल सरकारले सञ्चालन गरेको केयर गिभर परीक्षामा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका व्यक्तिलाई लक्षित गरेर ठगी गरिएको अनुसन्धानबाट खुलेको छ । उक्त परीक्षामा ३ हजार ४६१ जना उत्तीर्ण भएका थिए ।

प्रतीक्षा सूचीमा रहेका १ हजार १५२ जनामध्ये १५६ जनालाई मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर तत्काल इजरायल पठाइदिने भन्दै रकम उठाइएको आरोप छ । ठगी गर्ने समूहले प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँसम्म लिएको बताइएको छ ।

नेपाल सरकार र इजरायल सरकारबीच सरकार–सरकार (जीटुजी) सम्झौताअन्तर्गत नेपाली नागरिकलाई केयर गिभरका रूपमा इजरायल पठाउने व्यवस्था छ । यही प्रक्रियाको नाममा नक्कली कागजात देखाएर पीडितलाई विश्वासमा पारिएको सीआईबीको अनुसन्धानले देखाएको छ ।

भुटानी शरणार्थी प्रकरणकै शैलीमा नक्कली कागजात

भुटानी शरणार्थी समस्या समाधान गर्ने भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को कार्यकालमा ३० जेठ २०७६ मा कार्यदल गठन गरिएको थियो । गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलमा गणेशबहादुर केसी विज्ञ र तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने सदस्यसचिव थिए ।

पन्थी कार्यदलको प्रतिवेदनमा अनुसूची थपेर नक्कली नाम समावेश गरी अमेरिका पठाउने भन्दै ठगी गरिएको प्रकरण सार्वजनिक भएको थियो । अहिले इजरायल पठाउने भन्दै भएको ठगीमा पनि मन्त्रिपरिषद्को निर्णयजस्तो देखिने नक्कली कागजात बनाएर विश्वास दिलाइएको सीआईबीका अनुसन्धान अधिकृतले बताएका छन् ।

यस प्रकरणमा पक्राउ परेका शिवराम श्रेष्ठ र ज्ञानबहादुर कार्कीमाथि मन्त्रिपरिषद्को निर्णयजस्तो देखिने नक्कली कागजात बनाएको आरोप छ । उनीहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरी अनुसन्धान गरिएको सीआईबीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले भारतीय मूलका जस्ता देखिने एक व्यक्तिले मन्त्रिपरिषद्को निर्णयजस्तो कागजात बनाउन लगाएको बयान दिएका छन् । नक्कली कागजात बनाएबापत केही रकम लिएको आरोपसमेत उनीहरूमाथि छ ।

एकै व्यक्तिबाट साढे दुई करोडसम्म ठगी

सीआईबीको प्रारम्भिक अनुसन्धानअनुसार एकै व्यक्तिबाट साढे दुई करोड रुपैयाँसम्म ठगी भएको पाइएको छ । ती व्यक्तिले विभिन्न व्यक्तिसँग इजरायल जानका लागि रकम संकलन गरी पक्राउ परेको समूहलाई बुझाएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

हालसम्म २२ जनाले आफूहरू ठगीमा परेको भन्दै सीआईबीमा उजुरी दिएका छन् । उनीहरूबाट कुल साढे ६ करोड रुपैयाँ ठगी भएको उजुरी प्राप्त भएको सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपमशमशेर जबराले बताएका छन् ।

जबराका अनुसार पीडितको संख्या अझै बढ्न सक्ने भएकाले सीआईबीले सूचना जारी गरी ठगीमा परेका व्यक्तिलाई सम्पर्कमा आउन र उजुरी दिन आह्वान गरेको छ ।

यस प्रकरणमा सुरुमा विमल पराजुलीको नामबाट हेलो सरकारमा उजुरी परेको थियो । हेलो सरकारको चलानी नम्बर १५८० को पत्रमार्फत उक्त उजुरी सीआईबीमा पुगेपछि अनुसन्धान अघि बढाइएको थियो ।

पाँच जना पक्राउ

इजरायल पठाउने भन्दै ठगी गरेको आरोपमा सीआईबीले हालसम्म पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १ असोजमा रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय भरत चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया बालिका शिवाकोटीलाई पक्राउ गरेको थियो ।

त्यसपछि मुलपानी क्षेत्रबाट ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए । पछिल्लो पटक नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उम्मेदवारसमेत रहेकी विनिता खड्का पक्राउ परेकी हुन् ।

सीआईबीका अनुसार खड्काविरुद्ध सुरुमा उजुरी परे पनि अनुसन्धानका क्रममा प्रमाण फेला परेपछि पक्राउ गरिएको हो । खड्का र कांग्रेसकै अर्का नेता चौलागाईंबीच यस प्रकरणमा सम्बन्ध देखिएको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन् ।

यद्यपि, खड्कालाई सोमबार काठमाडौं जिल्ला अदालतले थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । चौलागाईंलाई भने प्रहरीले सुरुमै पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार पीडितसँग प्रत्यक्ष सम्पर्कमा रहेर रकम संकलन गर्ने मुख्य व्यक्तिका रूपमा बालिका खड्का देखिएकी छन् । अन्य व्यक्तिहरूले पनि उनीसँग सम्पर्क स्थापित गरी काम गरेको अनुसन्धानमा खुलेको बताइएको छ । पक्राउ पर्नुभन्दा चार–पाँच दिनअघि मात्रै पनि रकम बुझिएको पाइएको प्रहरीको भनाइ छ ।

संगठित अपराधमा अनुसन्धान

सीआईबीले सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो । त्यसपछि ठगीसँगै आपराधिक लाभसम्बन्धी कसुरमा पनि अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता खुलेको र समूहले योजनाबद्ध रूपमा काम गरेको देखिएपछि अहिले संगठित अपराधको कसुरमा समेत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढेसँगै प्रहरीले प्रचलित कानुनी व्यवस्थाअनुसार ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्नेछ ।

इजरायलमा रोजगारी दिलाउने प्रलोभनमा रकम बुझाएका पीडितहरू अहिले अलपत्र परेको प्रहरीले जनाएको छ । सीआईबीले थप पीडितलाई उजुरी दिन आह्वान गर्दै घटनामा संलग्न अन्य व्यक्तिको पहिचान र ठगी भएको रकमबारे अनुसन्धान जारी राखेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस