
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध उठेका आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई आग्रह गरेका छन् । उनले आफूमाथि हुने छानबिनमा सबैलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद सुनारले पछिल्लो समय आफूविरुद्ध विभिन्न आरोप र प्रचार भइरहेको दाबी गरेका छन् । प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उनको भनाइ छ ।
उनले आफूलाई जोडेर सार्वजनिक गरिएको अडियो तथा अन्य आरोपहरू झुटा भएको दाबी गर्दै ती सामग्री कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरेर तयार पारिएको प्रचार भएको बताएका छन् ।
सुनारले आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको निष्पक्ष छानबिन गर्न पार्टी तथा सरकारलाई आग्रह गरेका छन् । भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण आफूविरुद्ध आरोप र घृणाको वातावरण सिर्जना गरिएको उनको दाबी छ ।
उनले यस्ता प्रचारबाट भ्रमित नहुन आम नागरिकलाई अपिलसमेत गरेका छन् । साथै, आफूमाथि हुने छानबिनका क्रममा आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएका छन् ।
सुनारले फेसबुकमा लेखेका छन्, “ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु ।”
उनले आफूविरुद्ध सार्वजनिक भएका सामग्रीबारे छानबिनबाट सत्यतथ्य बाहिर आउनुपर्नेमा जोड दिएका छन् ।