
काठमाडौं । विवादास्पद अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई पार्टीको केन्द्रीय अनुशासन आयोगले २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।
बागमती प्रदेशकी पूर्वराज्यमन्त्रीसमेत रहेकी एक महिलामाथि आपत्तिजनक लाञ्छना लगाएको र धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो सार्वजनिक भएपछि सुनार विवादमा तानिएका हुन् ।
उक्त विषयमा सत्यतथ्य पत्ता लगाउन पार्टीले आन्तरिक छानबिन प्रक्रिया अघि बढाएको हो । रास्वपाका एक आयोग सदस्यका अनुसार सुनारलाई सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाइएको छ ।
‘माननीय खगेन्द्र सुनारलाई सामाजिक सञ्जालमा सार्वजनिक भएको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका छौँ । उहाँको स्पष्टीकरण आएपछि बाँकी प्रक्रिया अगाडि बढ्छ,’ आयोगका एक सदस्यले रातोपाटीसँग बताएका छन् ।
यसअघि पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य अन्वेषण गर्न केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिइएको जानकारी गराएका थिए ।
अडियो प्रकरण सार्वजनिक भएपछि पार्टीले सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ । रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका सुनारमाथि घटनाको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने दबाब बढिरहेको छ ।
अब आयोगले सुनारको स्पष्टीकरण प्राप्त गरेपछि त्यसका आधारमा थप प्रक्रिया अघि बढाउने जनाएको छ ।