
२७ असोज, काठमाडौं । भदौ १० गतेको बाढीले क्षति पुर्याएको गल्छी–त्रिशूली–मैलुङ सडकखण्डअन्तर्गत कोल्पुखोलाको नयाँ मोटरेबल पुललाई सवारी आवागमन बन्द नगरी पुरानै अवस्थामा फर्काउने काम भइरहेको छ।
धादिङ र नुवाकोट हुँदै रसुवा जाने मुख्य सडकमा पर्ने कोल्पुखोलाका नयाँ र पुराना दुवै पुलमा बाढीले असर पुर्याएको थियो। यी पुलले नुवाकोटको बेलकोटगढी नगरपालिका–५ र धादिङको गल्छी गाउँपालिका–८ लाई जोड्छन्।
त्रिशूली नदी किनारनजिकै रहेको कोल्पुखोला त्रिशूलीसँग जोडिएको ठाडो खोला हो। बाढीका कारण पुरानो र सानो पुल त्रिशूली नदीतर्फ ढल्किएको छ भने नयाँ पुलको जिप र ढलान छुट्टिएका छन्।
सडकमा नियमित यातायात सञ्चालन सहज बनाउन नयाँ र ठूलो पुललाई तत्काल पुरानै अवस्थामा फर्काउनु आवश्यक भएपछि मर्मतको काम अघि बढाइएको हो।
११ मिटर चौडाइ र ४१ मिटर स्पान भएको प्रिस्ट्रेस्ड कङ्क्रिट गर्डर ब्रिजलाई विशेष प्राविधिक विधिबाट धकेलेर पुरानै स्थानमा फर्काउने काम भइरहेको छ। करिब ९०० टन तौल भएको पुललाई सवारी आवागमन नरोकी मर्मत गरिँदै छ।
संघीय सरकारबाट पुल मर्मतको ठेक्का चितवनको भरतपुरस्थित जलप नेपाल प्रालिले पाएको छ। असोज ५ गतेदेखि पुललाई पुरानै स्थानमा फर्काउने काम सुरु गरिएको हो।
मेकानिकल इन्जिनियर अब्दुल खालिदको नेतृत्वमा नेपाली प्राविधिक टोली पुल मर्मतमा खटिएको छ। हालको टोलीमा खालिदसहित १० जना नेपाली प्राविधिकले काम गरिरहेका छन्।
मेकानिकल इन्जिनियर खालिदका अनुसार भदौ १० गते त्रिशूलीमा आएको तीव्र गतिको बाढीका कारण कोल्पुखोलाको पानी केही समय उल्टो दिशामा बगेर करिब तीन किलोमिटर माथिसम्म पुगेको थियो।
पछि पानी पुरानै दिशामा फर्कन थालेपछि त्यसको बहावले पुललाई केही माथि उचालेको र त्यसक्रममा पुल करिब ५०० मिलिमिटर तलतर्फ सरेको उनले बताए।
उनका अनुसार प्रत्येक पुलका चार कुनामा पुललाई दायाँबायाँ सर्न नदिन ‘स्टपर’ राखिएको हुन्छ। कोल्पुखोलाको पुल सर्ने क्रममा ती स्टपरले थप विस्थापित हुनबाट रोकेका थिए। त्यसपछि पुलको सम्पूर्ण भार स्टपरमा परेको थियो।
‘पुललाई लेभलमा पनि ल्याइसकेका छौँ। अब पुललाई माथितिर उचालिरहेका छौँ,’ खालिदले भने।
खालिदका अनुसार बाढीका बेला कोल्पुखोलाले एक प्रकारले जलाशय (रिजर्भ्वायर) को कामसमेत गरेको थियो। खोलामा ठूलो मात्रामा पानी जम्मा हुँदा कोल्पुखोलाको पुलमा क्षति पुगे पनि अगाडि रहेको महेश खोलाको पुललाई भने त्यसले जोगाउन सहयोग गरेको उनको भनाइ छ।
उनले दसैँअघि नै कोल्पुखोलाको नयाँ पुल मर्मत सम्पन्न गर्ने लक्ष्य रहेको बताए।
पुलको मर्मत सम्पन्न भएपछि गल्छी–त्रिशूली–मैलुङ सडकखण्ड हुँदै नुवाकोट र रसुवातर्फ आवतजावत गर्ने सवारीसाधनलाई थप सहज हुने अपेक्षा गरिएको छ।