२०८३ आश्विन २८, बुधबार

हुथी विद्रोहीको साउदी अरामकोको भवनमा आक्रमण, रियादमा चार जना घाइते

हुथी विद्रोहीको साउदी अरामकोको भवनमा आक्रमण, रियादमा चार जना घाइते

काठमाडौँ । यमनका हुथी विद्रोहीले साउदी अरेबियाको पूर्वी सहर धहरानस्थित सरकारी स्वामित्वको तेल कम्पनी साउदी अरामकोको प्रशासनिक भवनमा आक्रमण गरेका छन्। आक्रमणपछि भवनमा सीमित आगलागी भएको छ भने रियादमा क्षेप्यास्त्रका टुक्रा खस्दा चार जना घाइते भएका छन्।
साउदी ऊर्जा मन्त्रालयका अनुसार मंगलबार राति भएको आक्रमणमा मानवीय क्षति भने भएको छैन। समाचार संस्था रोयटर्सका अनुसार अरामकोको मुख्यालय परिसरमा रहेको एउटा कार्यालय भवनमा क्षेप्यास्त्र प्रहार हुँदा भवनका माथिल्ला तीन तलामा क्षति पुगेको छ।
साउदी नेतृत्वको गठबन्धनले धहरानमा अवरोध गरिएको क्षेप्यास्त्रका टुक्रा आवासीय क्षेत्रमा खसेको जनाएको छ। राजधानी रियादमा पनि हुथी विद्रोहीका क्षेप्यास्त्र तथा ड्रोनलाई अवरोध गरी नष्ट गरिएको साउदी अधिकारीहरूले बताएका छन्।
क्षेप्यास्त्रका टुक्रा खस्दा रियादमा दुई महिला, एक पुरुष र एक बालक गरी चार जना घाइते भएका छन्। साउदी नागरिक सुरक्षा निकायका अनुसार घटनाका कारण राजधानीका १५ घरमा सामान्य क्षति पुगेको छ।
यमनमा पुनः चर्किएको गृहयुद्धका क्रममा साउदी अरेबिया र हुथी विद्रोहीबीच आक्रमण तीव्र बनेको छ। साउदी अरेबियाले यमनको सरकारी सेनालाई समर्थन गर्दै आएको भन्दै हुथी विद्रोहीले क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गर्दै आएका छन्।
यसअघि हुथी प्रवक्ता याह्या सारीले साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा गरेको आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका थिए। उनले धहरानस्थित अरामको मुख्यालय र रियादको तेल प्रशोधन केन्द्रलाई सम्भावित निशानाका रूपमा उल्लेख गरेका थिए।
यता, साउदी नेतृत्वको गठबन्धनले हुथी विद्रोहीको आक्रमण क्षमता कमजोर बनाउने उद्देश्यले सानानजिकैको इन्धन भण्डारण केन्द्रसहित विभिन्न स्थानमा आक्रमण गरेको जनाएको छ।
यमनको द्वन्द्वले क्षेत्रीय तनावसमेत बढाएको छ। साउदी अरेबियाले हुथी विद्रोहीविरुद्ध सैन्य अभियान तीव्र बनाइरहेका बेला इरानले रियाद र हुथी विद्रोहीबीच मध्यस्थता गर्ने प्रस्ताव अघि सारेको छ

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस