२०८३ आश्विन २८, बुधबार

आरुघाटको पक्की पुल बगाएपछि बेलिब्रिज निर्माण सुरु, एक साताभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

आरुघाटको पक्की पुल बगाएपछि बेलिब्रिज निर्माण सुरु, एक साताभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

गोरखा । बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटको मुख्य पक्की पुल बगाएपछि अवरुद्ध यातायात सञ्चालनका लागि सरकारले अस्थायी बेलिब्रिज निर्माणको काम अघि बढाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका अनुसार बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री बोकेका सात ट्रक निर्माणस्थलमा पुर्‍याइएको छ । सडक डिभिजन कार्यालय हेटौँडाबाट पठाइएका निर्माण सामग्री गोरखा बजार हुँदै आरुघाट पुर्‍याइएको हो ।
बुढीगण्डकी नदीमा आएको बाढीले आरुघाट गाउँपालिका–९, नयाँ पुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एउटा खण्ड बगाएको थियो । आइतबार बिहान उत्तरी गोरखाको सिर्गी हिमाल क्षेत्रमा पहिरो गएपछि नदी थुनिएर आएको आकस्मिक बाढीले पुलको गोरखातर्फको २२ मिटर लामो आरसीसी भाग बगाएको थियो । त्यसपछि दुई जिल्लाबीचको सडक सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ ।
एक साताभित्र यातायात सञ्चालन गर्ने लक्ष्य
दशैँको टीकाअघि नै अर्थात् अबको एक साताभित्र बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ । आजदेखि पुलको जग खन्ने र ढलान गर्ने काम सुरु गरिने जनाइएको छ । बेलिब्रिज जडानको जिम्मेवारी नेपाली सेनाको प्राविधिक टोलीले सम्हाल्नेछ ।
पुलको ६० मिटर लामो ट्रस संरचना सुरक्षित रहेकाले त्यसमा थप संरचना जोडेर अस्थायी बेलिब्रिज सञ्चालन गर्ने तयारी गरिएको छ ।
सडकखण्ड अवरुद्ध हुँदा गोरखाका आरुघाट, धार्चे तथा चुमनुब्री गाउँपालिका र धादिङको सल्यानटार क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् । बेलिब्रिज निर्माण सम्पन्न भएपछि उक्त क्षेत्रको सडक सम्पर्क पुनः स्थापित हुने अपेक्षा गरिएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस