
सुनसरी । सुनसरीमा २ हजार ७८० ट्याब्लेट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–३, नडाहा चोकका ३० वर्षीय अनुश मगर रहेका छन्।
प्रहरीका अनुसार उदयपुरतर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प २५९३ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनामाथि शंका लागेपछि प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित नडाहा चोकमा रोकेर जाँच गर्न खोजेको थियो।
प्रहरीले मोटरसाइकल रोक्नासाथ चालक फरार भएका थिए। मोटरसाइकलको पछाडि सवार मगरलाई भने प्रहरीले नियन्त्रणमा लिएर जाँच गरेको थियो।
जाँचका क्रममा मगरको साथबाट १ हजार ३ सय ९० ट्याब्लेट डाइसाइक्लोमिन र १ हजार ३ सय ९० ट्याब्लेट ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ। बरामद लागूऔषधको कुल परिमाण २ हजार ७८० ट्याब्लेट रहेको छ।
प्रहरीले मगरलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको छ। फरार मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।