
काठमाडौं । दसैँको अवसरमा सर्वसाधारणको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने समयमा यात्रुलाई सुविधा पुर्याउने उद्देश्यले दुईवटा बस सञ्चालनमा ल्याइएको हो।
सशस्त्र प्रहरी बलका अनुसार उक्त निःशुल्क बस सेवा सोमबारदेखि लगातार तीन दिनसम्म सञ्चालन हुनेछ। बस सेवा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म उपलब्ध हुने व्यवस्था मिलाइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट सञ्चालन हुने दुईवटा बसले उपत्यकाका विभिन्न रुटमा यात्रुलाई निःशुल्क सेवा प्रदान गर्नेछन्।
पहिलो बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा यात्रुलाई सेवा दिनेछ। त्यस्तै, दोस्रो बसले सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै यात्रुलाई निःशुल्क सेवा उपलब्ध गराउनेछ।
दसैँको समयमा सार्वजनिक यातायातको अभावका कारण सर्वसाधारणले आवतजावतमा समस्या भोग्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न निःशुल्क बस सेवा सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
चाडपर्वका बेला नागरिकलाई सहज र सुरक्षित यात्रा गर्न सहयोग पुर्याउने उद्देश्यले सशस्त्र प्रहरी बलले यस्तो सेवा सञ्चालन गर्दै आएको छ।