३० असार / नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ चनडाँडामा खेतमा लडेर गम्भीर घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । बाख्रा गोठाला गएका मनिष गिरी आइतबार (हिजो) साँझ ५ बजेतिरको समयमा खेतको कान्लाबाट लडेका थिए ।
करिब २० मिटर तल खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौँस्थित ग्राण्डी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा हिजो साँझ उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थायी ठेगाना भएका ११ वर्षीय मनिष हाल काठमाडौँको तारकेश्वर नगरपालिकामा रहेको कौशल इंग्लिश बोर्डिङ स्कुलमा पढ्दै आएका थिए । अघिल्लो वर्षसम्म नुवाकोटको लिखु गाउँपालिका–६ छहरे बजारमा रहेको से बोर्डिङ स्कुलमा कक्षा ४ सम्म पढेका थिए । सानैदेखि सँगै राखेर पढाउँदै आएकी मनिषको फूपूदिदी कविता गिरीले यो वर्षबाट काठमाडौँ लगेकी थिइन् । कक्षा ५ मा पढ्ने मनिषको विद्यालय बिदा भएका कारण कविताले भाइलाई लिएर शुक्रबार घर आएकी थिइन् ।
धान रोपाइँको लागि घर आएकी कविताले मनिषलाई धानको बिउ काड्न खेतमा लगेकी थिइन् । दिनभर जसो दिदीसँगै खेल्दै खेतमै याताउती गरिरहेका थिए । आकाशबाट पानी पर्न थालेपछि मनिषका हजुरबुबा डिल्लीबहादुर गिरी ओढ्ने प्लाष्टिक लिन घरतिर गए । कविता आफ्नै सुरमा धानको बिउ उखेल्नमा व्यस्त भइन् ।
पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष विमला केसीले दिएको जानकारी अनुसार डिल्लीबहादुर घरबाट एक्लै आएको देखेपछि कविताले बुवालाई भाई खोइ त? भनेर प्रश्न गरिन् । डिल्लीबहादुरले खेतमै थियो त! भन्दै अत्तालिएको आवाजमा जवाफ दिए ।
कविताले फेरि बुबालाई प्रश्न गरिन्, घर गयो होला, देख्नुभएन तपाईंले घरमा? त्यसपछि डिल्लीबहादुरले घरमा नभएको भन्न नभ्याउँदै आत्तिएर नातीलाई बोलाउन थाले । सिमसिम पानी परेको थियो । कविता र डिल्लीबहादुरले खोज्ने क्रममा आलीबाट लडेर रगताम्य भएको अवस्थामा कान्लामुनी भेटिए मनिष ।
‘पानी परेपछि खेत नजिकै रहको आफ्नो घरमा जाने क्रममा खेतको आलिबाट चिप्लेर लडेको अवस्थामा फेला परेको रहेछ, गाउँपालिका उपाध्यक्ष केसीले भनिन्, ‘टाउको ढुंगामा परेको कारण रगत रोकिएको थिएन । अस्पताल लैजाने क्रममा बाटोमा नै बेहोस भैसकेको थियो । अस्पताल पुर्यापछि डाक्टरले मृत घोषणा गरिदिए ।’
उपाध्यक्ष केसीका अनुसार मनिषका बुबा उद्धव गिरी वैदेशिक रोजगारीको क्रममा साउदी अरबमा छन् । उनकी आमा मनिका गिरीको २०७२ को भूकम्पमा परेर मृत्यु भएको थियो । मनिष ६ महिनाको हुँदा आमाको मृत्यु भएपछि उनको स्याहार सुसार फूपूदिदी कविताले गर्दै आएकी थिइन् ।