
पुस २९, काठमाडौँ / भारतको उत्तर प्रदेश राज्यको मथुरा निवासी एक व्यक्तिले आफूलाई डस्ने सर्प जिउँदै बोकेर उपचारका लागि अस्पताल पुगेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मथुराका ई–रिक्सा चालक दीपकलाई सोमबार सर्पले डसेको थियो । उनी उक्त सर्पलाई लिएरै जिल्ला अस्पतालको आकस्मिक उपचार कक्षमा पुगे ।
चिकित्सकलाई सर्पको पहिचान गराउने उद्देश्यले सर्पलाई समातेर अस्पतालमा लगेको र कुन सर्पले डसेको हो भन्ने थाहा भएको खण्डमा उपचारका लागि सहज हुन्छ भन्ने सुनेको आधारमा आफूले सर्पलाई नै बोकेर अस्पताल पुर्याएको उनले बताए ।
यद्यपि, अस्पतालभित्रै सर्प बोकेर आएको देखेपछि केहीबेर माहोल त्रसित भएको थियो । चिकित्सकले उनलाई सर्प कुनै सुरक्षित स्थानमा छाडेर आउन आग्रह गरे । त्यसपछि उनले अस्पताल नजिकैको सडकमा आफ्नो ई–रिक्सा तेर्स्याएर केहीबेर चक्काजाम समेत गरे ।
त्यसपछि प्रहरी आएर उनलाई सम्झाइ–बुझाइ गरेर उक्त सर्पलाई नजिकैको जंगल क्षेत्रमा लगेर छाड्न लगाएको बताइएको छ । सर्पलाई सुरक्षित स्थानमा व्यवस्थापन गरी दीपकको उपचार गरिएको छ । उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ ।