
११ कात्तिक, काठमाडौं / मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लामा गएरातिदेखि भएको हिमपातका कारण अवरुद्ध बनेको सडक खुलाउन सशस्त्र प्रहरीको टोली खटेको छ ।
अवरुद्ध सडक खुलाउन सशस्त्र प्रहरीको टोलीले हिउँ पन्छाउन काम गरिरहेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनका अनुसार मुस्ताङको लोमाङथाङ गाउँपालिका–५ नेचुङस्थित उपल्लो मुस्ताङमा गएरातिदेखि परेको हिउँ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट नेचुङले पन्छाएको छ ।
सो टोलीले कोरोला नाका जाने बाटोको हिउँ समेत पन्छाएको छ । कोरला नाकासम्म जाने बाटोमा हिउँ जमेर असहजता भएपछि हिउँ पन्छाइएको उनले बताए । यो सडकमा थप हिमपात हुन सक्ने भन्दै उक्त क्षेत्रमा भ्रमणमा नआउन सशस्त्र प्रहरीले अनुरोध समेत गरेको छ ।
त्यसैगरी मनाङको डिस्याङ गाउँपालिका–४ हुम्डेस्थित चामेदेखि खाङ्सार जाने बाटोमा गएरातिदेखि परेको हिउँ समेत सशस्त्र प्रहरीले हटाएको छ ।