
२३ कात्तिक, काठमाडौं / काठमाडौं महानगरपालिका अन्तर्गतको वातावरण व्यवस्थापन विभागले खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको छ ।
चिसो बढेसँगै फोहोर, प्लास्टिक र अन्य वस्तु खुला ठाउँमा बाल्ने क्रम बढेको जनाउँदै महानगरले यस्ता वस्तु बाल्न रोक लगाइएको जनाइएको हो ।
जाडो महिनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणको स्तर अत्यधिक रूपमा बढ्ने गरेको छ । ‘प्रदूषण बढ्न यसरी खुला रूपमा बालिने वस्तुको महत्त्वपूर्ण हिस्सा छ,’ विभाग प्रमुख सरिता राईले भनिन्, ‘जनस्वास्थ्य र वातावरणमा पर्ने प्रतिकूल असर घटाउन यस्तो निर्णय गरिएको हो ।’
वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, दमखोकी जस्ता श्वासप्रश्वासका बिरामी, मुटुमा समस्या भएका तथा दीर्घरोगको सामना गरिरहेका व्यक्तिलाई बढी असर गर्छ । ती व्यक्तिसँगै सहरवासी सबैको स्वास्थ्य र वातावरण जोगाउन खुला रूपमा त्यस्ता वस्तु नबालेर धुँवा उत्सर्जन घटाउनुपर्नेमा महानगरको जोड छ ।
महानगरपालिकाले जारी गरेको प्रतिबन्ध सम्बन्धी अनुरोध कसैले अटेर गरे काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ तथा आर्थिक ऐन २०८२ बमोजिम कारबाही हुने विभाग प्रमुख राईको भनाइ छ । यस व्यवस्था बमोजिम प्रतिपटक १० हजार रुपैयाँ जरिबाना हुनेछ ।