८ भदौ, काठमाडौं / हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि वीरगञ्ज महानगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गरिएको छ । महानगरको शैक्षिक प्रशासन महाशाखाको आह्वानमा दुई दिन सामुदायिक तथा संस्थागत विद्यालहरूको पठनपाठन बन्द गरिएको हो ।
विगत केही दिनदेखि वीरगञ्जमा बढ्दै गएको हैजाको संक्रमणलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिनका लागि वीरगञ्ज महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन स्थगित गरिएको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार अबेर रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालहरूमा १२९ जना बिरामी उपचाररत छन् ।
ठाकुरका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १२, १३ र १६ नम्बर वडामा हैजाको संक्रमण फेला परेको हो । शुक्रबार राति वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्ली टोलका स्थानीयमा हैजाको संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको थियो । शनिबारसम्म आइपुग्दा वीरगञ्ज महानगरपालिकाका चार वडासम्म हैजाको संक्रमण फैलिएको उनले बताए ।
ठाकुरका अनुसार, पर्सा जिल्लामा पछिल्लो १० वर्षयता पहिलो पटक हैजाको प्रकोप देखिएको बताए । भिब्रियो कोलरी नामक जीवाणु दूषित खाना वा पानीमार्फत शरीरमा प्रवेश गरेपछि हैजा लाग्ने गर्दछ । यस रोगका लक्षणमा निरन्तर झाडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, आँखा गाडिने, शरीरमा पानी कमी भई मांसपेसी दुख्ने र ज्वरो आउने जस्ता समस्या देखिने गर्छन् । समयमै उपचार नपाए मृत्यु समेत हुन सक्ने उनले बताए ।