२०८२ अषाढ २५, बुधबार

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

रसुवागढीमा आएको बाढीको कारण ज्यान गुमाएकाहरूको शव र मानव अङ्ग काठमाडौँ ल्याउन लागिएको छ ।
रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

२५ असार काठमाडौँ / रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर–२ स्थित रसुवागढीमा आएको बाढीको कारण ज्यान गुमाएकाहरूको शव र मानव अङ्ग काठमाडौँ ल्याउन लागिएको छ । शव पोस्टमार्टमका गर्न त्रिवि शिक्षण अस्पतालमा पठाउन लागिएको बागमती प्रदेशका डीआईजी अरुण पौडेलले बताए । उनले भने, ‘शव र मानव अङ्गहरू फरक ठाउँमा भेटिएका छन्, सबैलाई त्रिवि शिक्षण अस्पताल पठाउँदै छौँ ।’

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल–चीन सीमाको लेन्डे खोला हुँदै भोटेकोशीमा आएको बाढीले बगाएर ९ जनाको मृत्यु भएको छ । तीमध्ये एकजनाको मात्रै सनाखत भएको छ ।

उद्धारमा खटिएका प्रहरीका असई लाल बहादुर श्रेष्ठको मात्रै सनाखत भएको छ । उनको शव चितवनको भरतपुर नगरपालिका–२९ स्थित १५ किलोमा भेटिएको थियो । अन्यको सनाखत हुन नसकेको र केहीको हात र खुट्टाको भागमात्रै भेटिएको डीआईजी पौडेलले बताए ।

खोज तथा उद्धारका लागी डीआईजी पौडेल र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, चितवनका एसपी नरेश सुवेदी रसुवाको स्याफ्रुमा छन् । बाढीका कारण अझै १९ जना सम्पर्क विहीन छन् ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस