२६ असार काठमाडौं / रसुवाको भोटेकोशी नदीमा मंगलबार आएको बाढीका कारण ठूलो परिमाणमा जनधनको क्षति भयो । केन्द्रीय प्रहरी प्रवक्ता (डीआईजी) विनोध घिमिरेका अनुसार बाढीमा परेर २० जना बेपत्ता भएका थिए ।
बेपत्तामध्ये प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव फेला परिसकेको छ । उद्धारका लागि निस्किएको प्रहरी टोलीमध्ये श्रेष्ठसहित तीन प्रहरी बेपत्ता भएका हुन् । प्रहरीबाहेक ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण नागरिक बाढीमा परेका हुन् । प्रहरीले हालसम्म नौजनाको शव फेला पारेको छ । डीआईजी घिमिरेका अनुसार शव फेला परेकाहरू बेपत्ता भएकाहरूमध्येकै हुन् ।
“हालसम्म दशजनाको शव फेला परेको छ । त्यसमा एकजना प्रहरी कर्मचारीको सनाखत भइसकेको छ । अन्यको सनाखत हुन बाँकी छ,” उनले भने, “तर, उनीहरू पनि बेपत्ताहरूमध्येबाट नै रहेको हाम्रो आशंका छ । सनाखत हुन भने बाँकी रहेकाले बेपत्ताको सूचीबाट नहटाइएको हो ।’’ बेपत्ताको सूची सुरुवाती २० बाट नबढेका कारण शव उनीहरूकै भएको प्रहरीको विश्वास छ ।
प्रहरीका अनुसार बाढीका कारण नेपाल–चीन नाका जोड्ने मितेरी पुल, ईभी चार्जिङ स्टेसन, आठवटा इभी गाडी, भन्सार कार्यालयमा क्षति, रसुवागढी हाइड्रोपावरमा क्षति तथा ड्राइपोर्ट बगाउँदा ठूलो मात्रामा कन्टेनरहरू समेत बगाएको छ ।