२३ वैशाख, काठमाडौं / उदयपुरको चौदण्डीगढी नगरपालिका–५ स्थित सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले जन्ती पुर्याएर फर्किएको बस बगाएको छ ।
सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर बेल्टार फर्किने क्रममा को १ ख ४७५३ नं. को बराहक्षेत्र नामक यात्रुबाहक त्रियुगामा नदीमा आएको बाढीमा बगेको हो ।
इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताले बस सोमबार राति ११ बजे त्रियुगा नदीमा आएको बाढीमा बगेर डुबेको बताए ।
उनले भने, ‘यो बस सोमबार राति सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर फर्किने क्रममा थियो । तर दिउँसोदेखि नै पानी परेकाले त्रियुगा नदीमा बाढी आएको थियो । बस राति ११ बजे जन्ती पुर्याएर फर्कने क्रममा बीच नदीमै फस्यो ।’
असई मेहताका अनुसार नदीमा डुबेको बसमा चालक र सहचालक मात्रै थिए । उनीहरू सकुशल रहेका छन् । नदीमा डुबेको उक्त बस निकाल्न क्रेन बोलाइएको छ । न्यू प्रतिसारा यातायातद्वारा सञ्चालिक उक्त यात्रुबाहक बस धरान–बेल्टार रूटमा चल्ने गरेको असई मेहताले बताए ।