२२ भदौ, काठमाडौं / सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरुले गम्भीर असन्तुष्टि जनाएका छन् । सभापति शेरबहादुर देउवा निवासमा आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा असन्तुष्टि जनाएका हुन् ।
सहमहामन्त्री जीवन परियारका अनुसार सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा सरकारसँग छलफल गर्ने निर्णय भएको छ । आजको बैठकमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुमा पर्यटनमन्त्री बद्री पाण्डे मात्रै सहभागी थिए । उनी चीनमा रहेको बेला सरकारले निर्णय गरेको हुँदा पाण्डेले सामाजिक सञ्जाल बन्द गर्नुपरेको कारणबारे सरकारी धारणा नराखेको बताइएको छ । सरकारमा सहभागी रहेका अरु मन्त्रीहरुसँग छलफल गरेर पार्टीको औपचारिक धारणा सार्वजनिक गर्नेबारे आज छलफल भएको एक नेताले जानकारी दिए ।
नेपालमा सूचीकृत हुन गरेको आह्वान नटेरेको भन्दै सरकारले यही भदौ १९ गते फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरुद्धमा महामन्त्री गगन थापा, नेताहरु विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, अर्जुननरसिंह केसी, बालकृष्ण खाण, महेन्द्र यादव लगायतले विचार राखेका थिए ।
महामन्त्री थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयप्रति आपत्ति प्रकट गरेपछि अन्य नेताहरुले समर्थनमा विचार राखेका थिए । महामन्त्री थापाले संयुक्त सरकारले निर्णय गर्नुअघि यस्ता मुद्धामा पार्टीभित्र छलफल हुनुपर्नेमा नभएको बताएका थिए ।
बैठकमा सहभागी नेताहरुले सामाजिक सञ्जाल दर्ता नभएको सरकारलाई पहिले नै थाहा भएको तर यो बेला किन बन्द गर्नुपरेको भनी प्रश्न राखेका थिए । अभिव्यक्ति स्वतन्त्रताको विरोध दल कांग्रेस नभएको उल्लेख गर्दै नेताहरुले औपचारिक धारणा बाहिर ल्याउन नेतृत्वलाई सुझाव दिएका थिए ।
अदालतको आदेशमा सरकारले निर्णय गरेको हो भने अन्य अदालती आदेशमा सरकार किन चुप रहेको भनी नेताहरुले प्रश्न उठाएका थिए ।
बैठकमा नेताहरुले राखेको धारणा बारे सहभागी एक नेताले भने, ‘अदालतको आदेशको आधारमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय हो भने अरु कतिपय आदेशलाई सरकारले सिरानी हालेको छ ।’