८ असोज जनकपुर / मधेस सरकारबाट कांग्रेस बाहिरिएको छ । जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री सतिस सिंहको नेतृत्वमा रहेको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
समर्थन फिर्ता लिएसँगै कांग्रेसले औपचारिकरुपमा आजै सरकारबाट बाहिरिने निर्णय गरेको कांग्रेस संसदीय दलले पनि पुष्टि गरेको छ । कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बैठकबाट मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए ।
उनका अनुसार दलको बैठकमा सांसदहरूले सरकारमा नबस्न दिएको सुझावअनुसार समर्थन फिर्ता लिइएको जानकारी दिए । ‘जनमत पार्टीले आफ्नो सरकारबाट बाहिरिएपछि हामीले पनि बस्न उचित नभएको ठहर गर्दै सरकारबाट बाहिरिने निर्णय गर्यौँ’ संसदीय दलका नेता यादवले भने ।
‘अब औपचारिकरुपमा आजै प्रदेश प्रमुखलाई पत्र पठाएर हामी सरकारबाट बाहिरिनेछौँ,’ उनले भने । आफ्ना मन्त्रीहरूलाई आजै फिर्ता बोलाउने तयारी भइरहेको समेत उनले बताए ।
मुख्यमन्त्री सिंह नेतृत्वको सरकारबाट करिब १६ महिनापछि कांग्रेस बाहिरिएको हो । यसअघि जनमत पार्टीले पनि आफ्नै नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । २८ भदौमा जनमत पार्टीले प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारबाट बाहिरिएको थियो ।