२०८२ अषाढ ८, आईतबार

मेलम्ची नगरपालिकामा डेङ्गु नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

मेलम्ची नगरपालिकाले डेङ्गु लगायतका किटजन्य रोग नियन्त्रणका लागि विशेष अभियानको थालनी गरेको छ ।
  • दृष्टि नेपाल
  • २०८२ जेष्ठ ९, बिहिबार
मेलम्ची नगरपालिकामा डेङ्गु नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

८ जेठ काठमाडौँ / मेलम्ची नगरपालिकाले डेङ्गु लगायतका किटजन्य रोग नियन्त्रणका लागि विशेष अभियानको थालनी गरेको छ ।

आज मेलम्ची नगरपालिकाको सभा हलमा आयोजना गरिएको सरोकारवाला अभिमुखिकरण कार्यक्रममा नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले सम्बोधन गर्दै समुदायस्तरमै लार्भा खोजी गरी नष्ट गर्ने अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

प्रमुख तामाङले नगरवासीको स्वास्थ्य सुरक्षा प्राथमिकतामा रहेको बताउँदै, रोग लागेपछि उपचार भन्दा पनि समयमै नियन्त्रणमा ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रमुख तामाङले विगत वर्षमा देखिएको डेङ्गु संक्रमणको जोखिम बारे जानकारी दिदै समयमै रोगको स्रोत नियन्त्रण गर्न सबै निकाय मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

उपप्रमुख प्रधानले डेङ्गुजस्ता रोगहरू रोकथाम गर्न सचेतना, सफाइ र समन्वय अपरिहार्य रहेको बताउनुभयो । अहिले दिनदिनै विभिन्न रोगहरु देखापरेको भन्दै हामीले गर्ने खानपान,आनिबानी बाट रोग लाग्ने गरेको बताउनुभयो । उहाँले विपदको पुर्वतयारी गरेको जस्तै यस्ता रोगहरुको पनि पुर्वतयारी गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा सरोकारवालाहरु, विद्यालय, महिला स्वयंसेविका,सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले लार्भा बस्न सक्ने स्थानहरू पहिचान गर्ने व्यवहारिक अभ्याससमेत गरेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्र,स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

मेलम्ची नगरपालिकाले यस अभियानलाई निरन्तरता दिने जनाएको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस