४ जेठ काठमाडौँ / लमजुङमा वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने काम सुरु गरिएको छ । बिहीबारदेखि वडा तह बाटै राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरिएको हो।
प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले गोरखापत्रलाई दिएको जानकारी अनुसार लमजुङमा तयार भएर आएका राष्ट्रिय परिचयपत्र कार्ड पहिलो चरणमा बेँसीसहर, सुन्दरबजार र राइनास नगरपालिकाको वडा तहमा पुगेर वितरण सुरु गरिएको हो ।
आठ वटा स्थानीय तहमध्ये बाँकी पालिकामा क्रमशः परिचयपत्र वितरण गरिने उनको भनाइ छ । यसअघि मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी एवं सरोकारवालासँगको अन्तरक्रियाले वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय परिचयपत्र वितरणका लागि स्थानीय तहसँगको सहकार्यमा प्राविधिकसहितको टोली प्रत्येक वडामा सात दिन बस्ने र आवश्यकता अनुसार १५ दिनसम्म बस्न सक्ने सुविधा मिलाइएको छ ।
लमजुङमा ३८ हजार जनाको कार्ड छपाइ भएकोमा १२ हजार २६१ जनालाई वितरण गरिसकिएको बताइएको छ यसअघि वडा तहमै पुगेर विवरण सङ्कलन गरेर छापिएर आएका कार्डलाई पुनः वडामै पुगेर वितरण गर्न लागिएको हो ।