२०८२ अषाढ ३१, मंगलबार

रसुवा बाढीले बगाएका शव सनाखतमा डीएनएको भर

रसुवा बाढीले बगाएका शव सनाखतमा डीएनएको भर

३१ असार, काठमाडौं /  रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका व्यक्तिको शव सनाखत गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागले प्रयास गरिरहेको छ । शव क्षतविक्षत अवस्थामा भएकाले सनाखत प्रक्रिया चुनौतीपूर्ण भएको फरेन्सिक विभाग चिकित्सक युजेन डोल्मा वालुङले बताइन् ।

‘अहिलेसम्म बाढीका कारण मृत्यु भएको भनेर ल्याइएका ९ वटा शव आएका छन्,’ डा. वालुङले भनिन्, ‘तीमध्ये ४ वटा शव मात्रै सग्लो खालका छन् । अरु सबै टुक्रा–टुक्रा छन् ।’

२५ असार बिहान ३ बजे आएको बाढीले बगाएका व्यक्तिको शवमध्ये धेरैको अवस्था यति बिग्रिएको छ, हेरेर पहिचान गर्न सम्भव नै छैन । कसैको टाउको छैन, कसैको खुट्टा मात्रै छ । यस्तो अवस्थालाई चिकित्सकीय भाषामा ‘म्याङ्गल्ड बडी’ भनिन्छ

फरेन्सिक विभागका अनुसार उच्च बेगको बाढीले शव क्षतविक्षत हुँदा सनाखत प्रक्रिया लम्बिएको हो । हालसम्म एकजनाको शव मात्रै सनाखत हुन सकेको छ । उक्त शव धादिङमा भेटिएको थियो ।

‘त्यो शवमा विशिष्ट ट्याटु भएकाले पहिचान गर्न सहज भयो,’ डा. वालुङले भनिन् । चिकित्सकका अनुसार घटनामा मृत्युको कारण पत्ता लगाउन मात्रै पोस्टमार्टम गरिन्छ । तर यस्तो विपदमा शव पहिचानको लागि केही अन्य प्रक्रिया अपनाएर परीक्षण गरिन्छ ।

सबभन्दा पहिले त मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटुका आधारमा शव पहिचान गरिन्छ । तर, यसरी पत्ता नलागेमा मृतकको पहिचान खुलाउने तीन आधार हुन्छन्– फिङ्गर प्रिन्ट, डेन्टल एक्जामिनेसन र डीएनए परीक्षण । शरीर चिन्न नसकिने भएका कारण सनाखतका लागि डीएनए परीक्षण प्रक्रियामा फरेन्सिक विभाग जुटिरहेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस