
९ कात्तिक, काठमाडौं / नेपाल स्टक एक्स्चेन्ज परिसरमा कर्मचारीले आइतबार विरोध प्रदर्शन गरेका छन् । तिहारअघिसम्म हातमा कालोपट्टी बाँधेर आन्दोलन गरिरहेका कर्मचारीले आइतबार भने परिसरमै ब्यानरसहित उत्रिएर विरोध प्रदर्शन गरेका हुन् । कर्मचारीको बोनसका सम्बन्धमा असोज ७ गतेदेखि नेप्सेका कर्मचारी आन्दोलनमा छन् ।
श्रम अदालतले नेप्सेको वार्षिक नाफाबाट कर्मचारीलाई ५ प्रतिशत बोनस छुट्याउने व्यवस्थालाई कार्यान्वन गर्न भने पनि व्यवस्थापनले अटेर गरेको भन्दै कर्मचारीले आन्दोलन थालेका थिए ।
‘श्रम अदालतले फैसला गरिसक्दा पनि व्यवस्थापनले कार्यान्वयन गर्नुको साटो झुलाउने उद्देश्यले सर्वोच्चमा रिट हाल्यो, व्यवस्थापनको नियतविरुद्ध हाम्रो आन्दोलन हो’ नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले भने । तर नेप्सेका नियमित कार्यमा भने कुनै अवरोध नगरिने उनले स्पष्ट पारे ।
व्यवस्थापन समूहले असोज २८ गते श्रमको फैसलाविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ । व्यवस्थापन पक्ष सर्वोच्चबाटै विवाद टुंगो लगाउने पक्षमा छ ।