२०८२ अषाढ ६, शुक्रबार

प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजंघालगायत हिमालको आरोहण प्रभावित भएको छ ।
  • दृष्टि नेपाल
  • २०८२ बैशाख २९, सोमबार
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित

२९ वैशाख काठमाडौँ / वसन्त ऋतुमा सगरमाथासहितका विभिन्न हिमाल आरोहण जारी छ । तथापि, प्रतिकूल मौसमका कारण आज सगरमाथा, कञ्चनजंघालगायत हिमालको आरोहण प्रभावित भएको छ ।

पर्यटन विभागका अनुसार, सगरमाथामा तीव्र गतिको हावाका कारण आरोहण प्रभावित भएको हो । विभागका निर्देशक हिमाल गौतमले भने, “सगरमाथामा तीव्र गतिको हावा बहेका कारणले गर्दा आज आरोहण हुन नसकेको खबर आएको छ ।”

आरोहणको तयारीमा रहेका धेरै संख्याका आरोही अहिले सुरक्षित स्थलतर्फ फर्किंदै छन् । अक्सिजन पर्याप्त भएका आरोही भने दोस्रो र तेस्रो शिविरमा अनुकूल मौसमको प्रतीक्षामा छन् ।

सगरमाथाको आधार शिविरमा रहेको पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रतिनिधि पासाङ भोटेका अनुसार मौसममा आएको खराबीले सगरमाथा आरोहण प्रभावित भएको छ ।

मौसमका कारण मे १५ तारिखमा आरोहण गर्ने योजना रद्द भएको छ । सम्भवतः मे १४ तारिखको आरोहण योजना पनि रद्द हुनेछ । उक्त मितिमा सगरमाथाको चुचुरोमा पुग्ने योजना बनाएका आरोही आधार शिविर झरिरहेको विभागका प्रतिनिधि भोटेले बताए ।

उनले भने, “मौसमका कारण आज सगरमाथाको आरोहण हुनसकेको छैन । चौँथो शिविर पुगेका आरोही आज र भोलि मंगलबार सबैजना आधार शिविर आउनुहुन्छ होला ।”

मौसम खराबीका कारण अबको तीन/चार दिन सगरमाथा आरोहण नहुने जनाइएको छ । मौसमले साथ दिए मे १८ तारिखदेखि सगरमाथा आरोहण हुने विभागले उल्लेख गरेको छ ।

यो पनि

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस