
पुस २१, हेटौँडा / काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो गाडी आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकबाट १०० मिटर तल खोल्सामा खस्दा सुमोमा सवार ९ जनामा मृत्यु भएका ६ जनामध्ये आज बिहानसम्म ५ जनाको सनाखत भएको छ ।
उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकामा गएराति उपचारका क्रममा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार सुमो दुर्घटनामा परी मृत्यु हुनेहरूमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा निवासी ४० वर्षीया सबिता लम्साल, हेटौँडा उपमहानगरपालिका–२ कान्तिराजपथ निवासी २९ वर्षीय निखिल अग्रवाल, हेटौँडा उपमहानगरपालिका–१० भुटनदेवी टोल निवासी ५६ वर्षीय कृष्णप्रसाद फुँयाल, भारतको विहार राज्य बेगुसराई निवासी ५० वर्षीय अरबिन्द कुमार र भारतको विहार राज्य पटना निवासी ४२ वर्षीय रजनिस कुमार छन् । मृतक एक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताएका छन् ।
सोही दुर्घटनामा परी घाइते भएका सुमो चालक हेटौँडा उपमहानगरपालिका–४ कर्रा चोक निवासी ४५ वर्षीय गणेश थापा, मृतक सविताका १२ वर्षीया छोरी अभ्यास लम्सालको चितवनस्थित पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको र अर्का घाइते रौतहटको चन्द्रपुर नगरपालिका–२ निवासी २१ वर्षीया रिचा चौधरीको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बोगटीले बताएका छन्।