२२ असार काठमाडौँ / जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार २२, आइतबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ । महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज बिहान बाढी मापन गर्दा कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तल छ । तर नारायणी, कर्णाली जलाधारका केही जलमापन केन्द्रमा जलसतह बढ्दो क्रममा छ ।
जिल्लाका दृष्टिले आज कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, सुर्खेट, सल्यान, रोल्पा, प्याठान, जाजरकोट, दैलेख र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना उच्च देखिएको बाढी महाशाखाले जनाएको छ ।
सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, पाल्पा र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना मध्यम रहेकाले उक्त नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ ।