६ साउन काठमाडौँ / इसराइली सेनाले सोमबार गजामा रहेको आफ्नो कर्मचारी निवास र मुख्य गोदाममा आक्रमण गरेको विश्व स्वास्थ्य संगठनले (डब्लुएचओ) बताएको छ । डब्लुएचओले गजाको देर अल–बलाहमा आफ्नो कर्मचारी निवासमा तीन पटक आक्रमण भएको जनाएको छ ।
हवाई हमलाले आगलागी भएको र व्यापक क्षति पुर्याएको अनि कर्मचारी तथा उनीहरूका परिवार, बालबालिका सहितलाई खतरामा पारेको बताएको छ । सोमबार इसराइली ट्याङ्कहरूले पहिलो पटक देर अल–बलाहको दक्षिणी र पूर्वी जिल्लाहरूमा प्रवेश गरेका थिए ।
इसराइलले उक्त क्षेत्रमा बन्धकहरू लुकाइएको हुन सक्ने भन्ने गरेका छन् । स्थानीय चिकित्सकहरूका अनुसार उक्त क्षेत्रमा ट्याङ्कले गरेको गोलाबारीले घर र मस्जिदहरूमा क्षति पुर्याएको भनेर बेलायती पत्रिका द गार्डियनले लेखेको छ । त्यसमा कम्तीमा तीन प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् ।
गजाको स्वास्थ्य मन्त्रालयले आफ्नो दैनिक अपडेटमा अघिल्लो २४ घण्टामा इसराइली गोलाबारी र सैन्य हमलाबाट कम्तीमा १३० प्यालेस्टिनी मारिएको र १,००० भन्दा बढी घाइते भएको भनेर सोमबार बताएको थियो । यो हालैका हप्ताहरूमा सबभन्दा उच्च संख्या हो ।
उनीहरूले दुई कर्मचारी र दुई परिवारका सदस्यहरूलाई हिरासतमा लिएको डब्लुएचओले बतायो । त्यसमध्ये तीन जनालाई पछि रिहा गरिएको र एक कर्मचारी सदस्य हिरासतमा नै छन् ।
डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले भने, ’डब्लुएचओले हिरासतमा रहेका कर्मचारीहरूको तत्काल रिहाइ र आफ्ना सबै कर्मचारीहरूको सुरक्षाको माग गर्दछ ।’