३० साउन काठमाडौँ / पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरी पुलपारि रोकिएका छन् । भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भयो ।
पहिरो पन्छाउन नसक्दा सवारी साधनमात्र होइन पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए । करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ ।
कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको जानकारी दिँदै उनले पहिरो पन्छाउने प्रयास नभएको गुनासो गरे । यसैबीच, चरिकोटस्थि सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिना साथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने बताए ।