३१ असार काठमाडौँ / काभ्रेका तीन ठाउँमा पहिरो खस्दा बीपी राजमार्ग रातिदेखि नै अवरुद्ध छ । रातिदेखि नै पहिरो पन्छाएर सडक खुलाउने प्रयास भए पनि सफल हुन नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले जानकारी दिए ।
रोसी गाउँपालिका– ११ स्थित माम्ती खोला, रोसी– ९ कै पिन्थली र बिरुवाडाँडामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । ‘तीनै ठाउँमा रातिदेखि नै जेसीभीको सहायतामा पहिरो हटाउने प्रयास जारी छ,’
उनले कुनै अप्ठ्यारो परेमा जिल्ला प्रहरी कार्यालय काभ्रेमा सम्पर्क गर्न पनि यात्रुहरुलाई अनुरोध गरेका छन् । त्यसका लागि मोवाइल नम्बरहरु ९८५१२८४३७६, ९८५११२३८०५ ,९८५१२८५४०० र ९८५१२३७३३९ मा सम्पर्क गर्न सकिने घलेले बताए ।
माम्तीमा गएराति १० बजेतिर सडक माथिबाट भेल आएर सडक कटान गरेपछि यातायात अवरुद्ध भएको हो । त्यहाँ अहिले दुईतर्फी नै सवारी अवरुद्ध छ । काभ्रेको मंगलटारबाट गएका प्रहरीले जेसीभीको सहायतामा पहिरो हटाउने प्रयास जारी राखेका छन् ।
गएराति नै साढे ११ बजेतिर रोसी–९ को पिन्थलीमा खहरे खोलाको लेदो आएर सडकमा थुप्रिँदा बाटो दुईतर्फी नै अवरुद्ध रहेको घलेले बताए । त्यहाँ पनि इलाका प्रहरी कार्यालय मंगलटारबाट प्रहरी टोली खटिएको छ । रातिदेखि नै जेसीभीको सहायतामा पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरि राति साढे ११ बजेदेखि नै रोसी– ९ बिरुवाडाँडामा पनि सडक अवरुद्ध छ । त्यहाँ लेदो सहितको पहिरो आएकोले बाटो दुईतर्फी नै सवारी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।