
पुस १७, सुनसरी / सुनसरी कोशी गाउँपालिका–१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको छ ।
घटना बुधबार राति करिब १ः१० बजे कोशी गाउँपालिका–१ स्थित पुरी टोलमा भएको हो । मृतक साह सोही वडाका स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्रबहादुर खड्काले जानकारी दिए ।
साहको मृत्युपछि स्थानीयले शव उठाउन दिएका छैनन् । घटनास्थलमा प्रदर्शन गरिरहेका छन् । साहले आफ्नै सिटी सफारीमा ८–१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो । मालसामान ओसारपसारको विषयलाई लिएर प्रहरी र साहबीच केही समय विवाद भएको थियो । स्थानीयले भने लेनदेनको विवादमा गोली हानेको दाबी गर्दै विरोध गरेका छन् ।
घटनास्थलमा प्रहरीले कानुनी प्रक्रिया पूरा गरी मुचुल्का उठाउने काम गरिरहेको छ । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी कुमार न्यौपानेले भने तस्करको समूहकसँग दोहोर गोली हानाहान भएको र त्यसक्रममा एक जनाको मृत्यु भएको दाबी गरे ।