सिन्धुपाल्चोक १५ मेलम्ची / केही अनलाइन सञ्चार माध्यमहरूले तथ्यहीन समाचारहरु प्रकाशन गरी बदनाम गर्न खोजेकोप्रति मेलम्ची नगरपालिकाले खेद व्यक्त गरेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनलाई हवाल दिएर बदनाम गर्न खोजिएको भनि एक विज्ञप्ति मार्फत नगरपालिकाले झुठा समाचारको भ्रममा नपर्न नगरवासीलाई आव्हानसमेत गरेको छ । ‘नागरिकको मौलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध’ रहेको औंल्याउँदै नगरपालिकाले महालेखा परीक्षकको प्रतिवेदनप्रति गम्भीर र सचेत रहेको बताएको छ । त्यससँगै बेरुजु कम गर्न हामी प्रयत्नशील रहेको नगरपालिकाले जनाएको छ ।
‘पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमले महालेखा परीक्षणको प्रतिवेदनको हवाला दिंदै मेलम्ची नगरपालिकाको विषयमा तथ्यहिन समाचारहरु प्रकाशन गरेका छन् । महालेखा परीक्षकको प्रतिवेदन प्रति हामी गम्भीर र सचेत छौं । बेरुजु कम गर्न हामी प्रयत्नशील पनि छौं ।
हामीलाई लाग्थ्यो रिपोर्टिङ गर्ने साथीहरु विज्ञ हुनुहुन्छ र उहाँहरुले राम्रो अध्ययन गरेर मात्र समाचार बनाउनु हुन्छ । हामीले बुझेको पत्रकारिताको ‘एबीसी’ अर्थात, तथ्य, सन्तुलित र विश्वसनीय हुनुपर्छ । तर, महालेखाको प्रतिवेदनलाई हचुवामा व्याख्या गरेर लेखेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन वेभ साइटमा समेत रहेको र त्यहाँ हेरेपछि सबै वास्तविकता बुझ्न सकिने दाबी नगपालिकाले गरेको छ । विज्ञप्तिमा भनिएको छ– ‘केही पत्रकार साथीहरुले नगरपालिकाको नियम बिपरित मागेको विज्ञापनको भुक्तानी गर्न नसक्दा र किताब लेख्न पेश्की मागेको पैसा नियम बिपरित भुक्तानी नगरेका कारण प्रतिशोधपूर्ण ढंगबाट नगरपालिकालाई बदनाम गराउने गरी एउटै समाचार विभिन्न अनलाइनमा कपी पेस्ट गरेर प्रकाशन गरिएको छ ।’
पत्रकारितामाथि अहिले गम्भीर प्रश्न उब्जिरहेको बेला नगरपालिकाले पत्रकारहरूलाई समेत प्रश्न गरेको छ । ‘उहाँहरुले गलत ढंगबाट पैसा मागेको प्रमाण हाम्रो सचिवालयमा सुरक्षित छ । पत्रकारिताको सामान्य सिद्धान्त समेत पालना नगरि लेखिएको यो समाचार केबल पित पत्रकारिताको ज्वलन्त नमूना मात्र हो । हामी बिना आधार हाम्रो बदनाम गराउने गरि लेखिएका समाचार विरुद्ध मिडियाको नियामक निकाय प्रेस काउन्सिलमा जाने तयारि गरिरहेका छौं’, विज्ञप्तिमा भनिएको छ ।
नगपालिकाले सूचना सहज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै भनेको छ– ‘हामी पारदर्शी छौं, नगरपालिकाले सम्पादन गरेका गतिविधिको सूचना तपाईंहरुले चाहेकै बेला हामी उपलव्ध गराउँछौ । त्यसैले गलत समाचारको प्रभावमा नपर्न र केही स्वार्थ पूर्ति नभएका व्यक्तिहरुले गरेका गलत प्रचारको पछि नलाग्न सबै नगरवासीहरूमा हामी आग्रह गर्दछौं ।’