
पुस २०,काठमाडौँ / नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी नेतृत्वको सङ्घीय गणतान्त्रिक गठबन्धनले तराई मधेसमा मस्जिद तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापन पत्र बुझाएको छ । आज सिंहदरबार पुगेर गठबन्धनका प्रतिनिधिहरुले गृहमन्त्री अर्याललाई ज्ञापन पत्र बुझाएका हुन् ।
पुस २० गते धनुषाको कमला नगरपालिका–६ स्थित एक मस्जिदमा तोडफोड भएको थियो । सो मस्जिदमा जबरजस्ती प्रवेश गरी पवित्र कुरान पाक जलाइएको, इस्लामिक ग्रन्थहरू नष्ट गरिएको तथा मस्जिद र स्थानीय बासिन्दाको सम्पत्ति तोडफोड गरिएको घटना अत्यन्तै गम्भीर रहेको समेत ज्ञापन पत्रमा उल्लेख छ । गठबन्धनले ती गतिविधि संविधान विरोधी रहेका समेत निष्कर्ष निकालेको छ ।
गठबन्धनले धनुषा घटनाको निष्पक्ष छानबिन, दोषीहरूमाथि कडा कानुनी कारबाही, धार्मिक अल्पसङ्ख्यक समुदायको जीवन, सम्पत्ति र धार्मिक स्वतन्त्रताको पूर्ण सुरक्षा सुनिश्चित गर्न पनि माग गरेको छ । दोषीमाथि कारबाही नभए आन्दोलनमा जाने चेतावनी समेत गठबन्धनले दिएको छ ।