८ साउन काठमाडौँ /रूसमा बेपत्ता भएको जहाज दुर्घटनाग्रस्त फेला परेको । बुधबार खाबरोव्स्कबाट ब्लागोवेश्चेन्स्क हुँदै टिन्डा जाँदै गरेको एन्टोनोभ एन–२४ जहाज टिन्डाबाट केही माइल वर पुगेपछि सम्पर्कविहीन भएको थियो ।
उक्त जहाज दुर्घटना भएको भेटिएको रूसी समाचार संंस्था तासले जनाएको छ । टिन्डाको विमानस्थलबाट केही माइल वर भिरालो जंगलमा जहाज दुर्घटनाग्रस्त भेटिएको हो । जहाज सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकप्टर परिचालन गरिएको थियो ।
ती हेलिकप्टरमा सवार उद्धारकर्ताहरूले टिण्डाभन्दा अगाडि नै जंगलमा धुवाँ आइरहेको फेला पारेका थिए। उनीहरूले आकाशबाटै अवलोकन गर्दा जहाजका भग्नावशेषहरू देखिएको भनेर रूसी अधिकारीहरूलाई उद्धृत गरेर अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन् ।
उद्धारकर्ताहरूले जहाज दुर्घटनास्थलमा जिवित मानिस भेटिने सम्भावना नरहेको भनेका छन् । जहाज दुर्घटनापछि आगो लागिसकेको र अहिले भग्नावशेषमात्रै बाँकी रहेको देखिँदा जिवित भेटिने सम्भावना नरहेको भनेर तासले लेखेको छ ।
जहाजमा चालक दलका ६ सदस्य र ४३ जना यात्रु गरी ४९ जना सवार रहेको बताइएको छ । तीमध्ये ५ जना बालबालिका रहेका छन् ।
दुर्घटनाको आधिकारिक पुष्टि हुन बाँकी रहेको भनिएको छ । यद्यपि दुर्घटनास्थलको फोटो/भिडिओ सार्वजनिक भएको र स्थानीय अधिकारीहरूले पनि दुर्घटनाको पुष्टि गरेको भनिएको छ ।