१० वैशाख काठमाडौँ / भारतको जम्मु–कश्मिरमा आतंकवादी आक्रमणबाट एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
जम्मू–कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा परी मृत्यु हुनेमा २७ वर्षीय सुदीप न्यौपाने रहेको पुष्टि भएको छ ।
उनी बुटवल उपमहानगरपालिका वडा नम्बर १४ कै रहेको सोही वडाका वडाध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए । वडा अध्यक्ष न्यौपाने र सुदीप नातामा काका भतिज हुन् ।
वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दुकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई कुन धार्मिक समूह हो भन्दै सोधेपछि एकाएक गोली हानेको थियो । आमासँग बुटवल ११ कालिकानगरमा बस्दै आएका सुदीप धरानमा पब्लिक हेल्थ पढ्दै आएका थिए ।
गत शनिबार आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न भन्दै कश्मिर गएका सुदीपमाथि बन्दुकधारीहरूले अचानक आक्रमण गरेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए ।
सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको उनले बताए । ’शवलाई कश्मिरबाट दिल्ली र दिल्लीबाट काठमाडौं ल्याउने तयारी गरिएको छ, अहिले म काठमाडौ जाँदै छु,’ वडा अध्यक्ष न्यौपानेले भने ।
बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले पनि कश्मिरमा भएको आक्रमणमा परी मृत्यु भएका युवक बुटवलकै रहेको पुष्टि गरेका छन् । उनीसँगै गएका अन्य आफन्त भने सकुसल रहेको सूचना प्राप्त भएको वडाध्यक्ष न्यौपानेले बताए ।