३ कार्तिक काठमाडौँ / बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो ।
बुटवलबाट नारायणगढ जान लागेको लु २ ख ४०९७ नं. को बस निस्किने क्रममा बसपार्कको गेटमै पैदल यात्रीलाई ठक्कर दिएको थियो । बिहान ७ बजे भएको उक्त दुर्घटनाबाट कपिलवस्तुको विजय नगर गाउँपालिका वडा नं. ७ बडसुदुवाका ३५ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसले ठक्कर दिएपछि यादवलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । बुटवलमा पेन्टिङको काम गर्दै आएका यादव तिहारको बिदा भएपछि बिहान घर जान बसपार्क जाँदै थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले यादवलाई ठक्कर दिने बस र चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ९ का ४० वर्षीय भीम मगरलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।