२३ असोज, काठमाडौं / राष्ट्रिय सभाको अधिवेशन तिहार र छठ पर्वपछि बोलाउने तयारी भएको छ । सभा सञ्चालनका लागि सिंहदरवार भित्रै रहेको राष्ट्रिय सभाको पूरानो सभाकक्षलाई व्यवस्थापन गरिँदैछ ।
संसद सचिवालयका सहसचिव सीता काफ्ले वाग्लेका अनुसार सभा बस्नका लागि हलको टुंगो लागेपछि व्यवस्थापनको काम सुरु गरिएको हो । उनले भनेकी छन्, ‘पहिलेको राष्ट्रिय सभा अहिलेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हललाई सभा बसाउनको लागि तयारी भइरहेको छ ।’
सहरी विकास मन्त्रालयको टोलीले निरिक्षण गरेपछि उक्त हलमा व्यवस्थापन गर्ने गरी काम सुरु भएको हो । उनका अनुसार हाल हल रहेको स्थानमै अगाडि ड्यास बनाइनेछ, दर्शकदिर्घा बनाइनेछ । सभाको लागि आवश्यक अन्य व्यवस्थापन गरिनेछ ।
यो काम सरकारसँगको समन्वयमै भएको उनले जानकारी दिइन् ।